जनता टाइम्स

१४ फाल्गुन २०८२, बिहीबार ०९:५५

स्वास्थ्य उपचारका लागि भन्दै निर्वाचनकाे मुखमा सिंगापुर उडे शेरबहादुर देउवा


काठमाडौं, फागुन १४। चुनावको मुखमा नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ। उहाँ बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्सको उडानमार्फत त्यसतर्फ जानुभएको हो।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको ठीक अघि उहाँ सिंगापुर जानुभएको हो। निर्वाचनअघि उहाँ नेपाल फर्कने सम्भावना न्यून रहेको उहाँनिकट स्रोतले जनाएको छ।

विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि सार्वजनिक रूपमा कमै देखिनु भएका देउवा पछिल्ला दिनमा राजनीतिक गतिविधिमा सक्रिय देखिनुभएको थिएन। नेपाली कांग्रेसका वर्तमान सभापति गगन थापा ले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट नदिएपछि उहाँ यसपटक निर्वाचन प्रक्रियाबाट बाहिर रहनुभएको छ। उहाँसँगै उहाँकी पत्नी आरजु देउवा पनि यसपटक निर्वाचन प्रतिस्पर्धाबाट बाहिर रहनुभएको छ।

डडेलधुराबाट २०४८ सालदेखि लगातार सात पटक प्रतिनिधि सभा निर्वाचन जित्दै आउनुभएका देउवा यसपटक उम्मेदवार बन्न नपाएपछि सार्वजनिक कार्यक्रममा कमै सहभागी हुनुभएको थियो। उहाँको परम्परागत निर्वाचन क्षेत्र डडेलधुराबाट यसपटक नैनसिंह महर उम्मेदवार रहनुभएको छ।

लामो समयदेखि राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्दै आउनुभएका देउवाको चुनावी माहोलकै बीच विदेश प्रस्थानलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। तथापि, उहाँको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।