जनता टाइम्स

१४ फाल्गुन २०८२, बिहीबार १०:२९

पार्टीकाे आन्तरिक विमति बिर्सेर निर्वाचनमा जुट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह


काठमाडौं, फागुन १४। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले नेकपा (एमाले) का नेता तथा कार्यकर्तालाई पार्टीभित्र रहेका सबै आन्तरिक विमतिलाई बिर्सेर निर्वाचनमा पार्टीको पक्षमा एकताबद्ध भएर परिचालित हुन आग्रह गर्नुभएको छ।

काठमाडाैं क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार डा. राजन भट्टराई लगायत नेता तथा कार्यकर्तासँग बालुवाटारस्थित आफ्नै निवासमा बुधबार बेलुकी भएको भेटमा उहाँले दृढतापूर्वक निर्वाचन अभियानमा लाग्न निर्देशनात्मक सुझाव दिनुभएको हो।

उहाँले पार्टी एकता र अनुशासनलाई प्राथमिकतामा राख्दै निर्वाचनमा संगठनात्मक शक्ति प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको बताइएको छ। निर्वाचन जति नजिकिँदै गएको छ, त्यति नै सक्रिय रूपमा घरदैलो तथा मतदाता भेटघाटमा जुट्नुपर्ने उहाँको सुझाव रहेको सहभागीहरूले बताएका छन्।

पूर्वराष्ट्रपति भण्डारी २०५१ र २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा हालको काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने अधिकांश भूभाग समेटिएको क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। उहाँ अहिले पनि सोही क्षेत्रकी मतदाता हुनुहुन्छ। उहाँको मतदाता नामावली बुढानीलकण्ठ नगरपालिका–२ मा रहेको छ।

घरदैलो कार्यक्रमका क्रममा उहाँलाई भेट्न पुगेका उम्मेदवार डा. भट्टराई लगायत नेताहरूसँगको संवादमा भण्डारीले ‘जित सुनिश्चित हुने गरी’ चुनावी अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको जनाइएको छ। उहाँले संगठन सुदृढीकरण, मतदाता सम्वाद र आन्तरिक समन्वयलाई प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो।