जनता टाइम्स

१४ फाल्गुन २०८२, बिहीबार १५:०७

 गएकाे निर्वाचनमा झण्डैँ ११ हजार मत ल्याएका रास्वपा कास्कीका नेता राजु राईले छाडे पार्टी  


पोखरा, फागुन १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी परित्याग गर्नुभएको छ। उहाँले बुधबार सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा पार्टी छाडेको घोषणा गर्नुभएको हो।

उहाँले फेसबुकमार्फत लेख्नुभएको छ, ‘राजनीति भनेको सोझो र इमान्दारिले गर्ने काम होइन रहेछ, आजबाट राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन, स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’

यसअघि पनि उहाँले सामाजिक सञ्जालमै नेताहरू चिनेर र टिकट किन्नुपर्ने प्रवृत्तिलाई संकेत गर्दै ‘त्यस्तो पार्टीलाई भोट दिनु आफ्नै टाउकोमा ऋण लगाउनु जस्तै हो’ भन्ने अभिव्यक्ति सार्वजनिक गर्नुभएको थियो। उहाँका ती अभिव्यक्तिलाई पार्टी नेतृत्व र टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टिको रूपमा हेरिएको थियो।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की–१ बाट उम्मेदवार बन्नुभएका राईले १० हजार ९ सय ४१ मत प्राप्त गर्नुभएको थियो। उक्त क्षेत्रमा नेकपा (एमाले)का मनबहादुर गुरुङ २५ हजार ७ सय ८ मतसहित विजयी हुनुभएको थियो भने नेपाली कांग्रेसका किशोर दत्त बरालले २३ हजार १८९ मत प्राप्त गरी दोस्रो स्थान हासिल गर्नुभएको थियो। राई तेस्रो स्थानमा रहनुभएको थियो।

पछिल्लो समय पनि उहाँ टिकटको आकांक्षी रहनुभएको चर्चा थियो। तर पार्टीले ‘अटेरी अभियान’ चलाउँदै लौरो चिह्न लिएर पोखराको मेयर पदमा प्रतिस्पर्धा गर्नुभएका खडकराज पौडेललाई उम्मेदवार बनाएको थियो। सो निर्णयपछि राई पार्टी नेतृत्वप्रति असन्तुष्ट रहनुभएको बताइन्छ।

रास्वपाभित्र टिकट वितरणमा आर्थिक चलखेल भएको आरोपसमेत उठिरहेको सन्दर्भमा पछिल्लो समय दर्जनभन्दा बढी नेताहरूले पार्टी परित्याग गरिसकेका छन्। राईको बहिर्गमनलाई कास्कीमा पार्टी संगठनका लागि थप चुनौतीका रूपमा हेरिएको छ।