जनता टाइम्स

१४ फाल्गुन २०८२, बिहीबार २०:२१

 एमाले उपाध्यक्ष विष्णु पौडेलको दाबी : लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ


बुटवल, फागुन १४ । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु पौडेलले लुम्बिनी प्रदेशमा एमाले बहुमतसहितको पहिलो शक्ति बन्ने दाबी गर्नुभएको छ।

फागुन २१ गते हुने निर्वाचनपछि एमाले राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित भई मुलुक सञ्चालनको ‘ड्राइभिङ सिट’मा बस्ने विश्वासका साथ पार्टी चुनावी अभियानमा होमिएको उहाँले बताउनुभयो। बिहीबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले एमालेले विगतदेखि नै जनपक्षीय काम गर्दै आएको र आगामी दिनमा पनि जनताको पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पौडेलले रुपन्देही क्षेत्र नं. २ का मतदाताहरू एमालेको पक्षमा स्पष्ट धारणा बनाएर बसेको जिकिर गर्नुभयो। उहाँले विभिन्न प्रकारका प्रक्षेपण र षड्यन्त्रका प्रयास भए पनि जनताको ‘माइन्ड सेट’ परिवर्तन गर्न कठिन हुने उल्लेख गर्नुभयो। ‘रुपन्देही क्षेत्र नं. २ मा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन्, ती प्रक्षेपणहरू अहिले असफल हुनेछन्, यहाँका मतदाताले एमालेलाई नै जिताउनुपर्छ भन्ने सोच बनाइसक्नुभएको छ, जनताको त्यो धारणा परिवर्तन गर्न निकै कठिन छ,’ उहाँले भन्नुभयो।

उहाँले रुपन्देही क्षेत्र नं. २ मात्र नभई जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा एमाले पहिलो शक्ति बन्ने दाबी गर्नुभयो। विगतमा अन्य क्षेत्रको तुलनामा क्षेत्र नं. ४ केही कमजोर देखिए पनि अहिले सो क्षेत्रमा उल्लेखनीय सुधार भएको उहाँको भनाइ थियो। ‘एमाले रुपन्देहीको सर्वाधिक बलियो र ठूलो शक्तिका रूपमा पुनः उदय हुँदै छ,’ उहाँले बताउनुभयो।

उहाँले रुपन्देहीमा सञ्चालित पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न तथा सम्पन्न भइसकेका योजनाहरूको प्रभावकारी व्यवस्थापन र सञ्चालनका लागि पनि एमालेको जित आवश्यक रहेको धारणा राख्नुभयो। ‘एमालेले केवल चुनाव जित्नका लागि मात्र जित्न खोजेको होइन। रुपन्देही र सिङ्गो लुम्बिनी प्रदेशलाई नमुना प्रदेश बनाउने लक्ष्यसहित हामी अघि बढेका छौँ,’ उहाँले भन्नुभयो।

निर्माणाधीन बुटवल–नारायणगढ र बुटवल–गोरुसिङ्गे सडक आयोजनासँगै सिद्धबाबा सुरुङमार्ग, सिद्धार्थ राजमार्ग स्तरोन्नति तथा कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना जस्ता परियोजनाहरूलाई आफूहरूले प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो।

सिद्धार्थ राजमार्गको स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रहरू आपसमा जोडिने र त्यसबाट पर्यटक आगमन वृद्धि हुने उहाँको विश्वास छ। प्रदेशको आर्थिक विकास र समृद्धिका लागि पूर्वाधार विस्तार अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको धारणा राख्नुभयो्।