जनता टाइम्स

१४ फाल्गुन २०८२, बिहीबार २०:५१

एमाले बहुमतसहित निर्णायक शक्ति बन्छ : केपी ओली 


दमक, फागुन १४ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा रहेको र बहुमतसहित निर्णायक शक्तिका रूपमा स्थापित हुने बताउनुभएको छ।

चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहीबार कमल गाउँपालिकामा केन्द्रित रहनुभएका उहाँले विभिन्न सञ्चारमाध्यमसँग कुराकानी गर्दै निर्वाचनपछि देश सम्हाल्न एमाले पूर्ण रूपमा तयार रहेको उल्लेख गर्नुभयो। एमालेले राष्ट्रिय स्वाभिमान, अन्तर्राष्ट्रिय सम्बन्ध, विकास र समृद्धिका क्षेत्रमा निर्वाह गरेको भूमिकाका कारण अहिलेको आवश्यकता एमाले नै हो भन्ने जनताले बुझिसकेको उहाँको भनाइ थियो।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवारसमेत रहनुभएका ओली यतिबेला निर्वाचन क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहनुभएको छ। यसैक्रममा बिहीबार उहाँ कमल ५ सिम्ले पुग्दा स्थानीयले भूमि सम्बन्धी समस्या समाधान गरिदिन आग्रह गरेका थिए। सडक तथा पुल निर्माणपछि जनजीवन सहज भए पनि अव्यवस्थित बसोबासको समस्या अझै समाधान हुन नसकेको स्थानीयको गुनासो थियो।

त्यसैगरी उहाँ कमल ३ सानो केर्खा पुग्दा स्थानीयले किरातेश्वर मन्दिर, वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिदिन माग गरेका थिए। ती स्थानहरूको पूर्वाधार विकास गरी धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा प्रवर्द्धन गर्न सकिने स्थानीयको भनाइ छ।

यसैबीच उहाँ कमल ५ झारवारीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा पनि सहभागी हुनुभएको थियो। प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा केही दिनयता उहाँ आफ्नै गृहनिर्वाचन क्षेत्रमा केन्द्रित रही चुनावी गतिविधिलाई तीव्रता दिइरहनुभएको छ।