दमक, फागुन १५ । केपी शर्मा ओलीले सरकारले अझैसम्म निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताउनुभएको छ। उहाँले मुलुकको सार्वभौम सांसदलाई ध्वंसको माध्यमबाट बलपूर्वक विघटन गरिएपछि देश सङ्कटतर्फ धकेलिएको टिप्पणी गर्नुभयो।
झापाको दमकमा अनेरास्ववियूले शुक्रबार आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा सम्बोधन गर्दै उहाँले देशमा आइपरेको राजनीतिक संकटबाट मुक्ति दिलाउनकै लागि नेकपा एमाले चुनावमा गएको स्पष्ट पार्नुभयो।
अध्यक्ष ओलीले नेकपा एमाले चुनावबाट नभाग्ने पार्टी भएकाले देशभर संगठन निर्वाचनकेन्द्रित रूपमा परिचालित भएको उल्लेख गर्नुभयो। आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति बन्ने दाबी गर्दै उहाँले देशमा देखिएका राजनीतिक तथा आर्थिक समस्याहरूको समाधान एमालेकै नेतृत्वमा सम्भव हुने बताउनुभयो।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले निर्वाचनमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने स्पष्ट गर्नुभयो। उहाँले चुनावलाई निष्पक्ष, पारदर्शी र धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको आरोपसमेत लगाउनुभयो। लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि स्वच्छ निर्वाचन अपरिहार्य रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा उहाँले युवाहरूलाई विभिन्न माध्यमबाट फैलाइने भ्रममा नपर्न आग्रह गर्दै यस्ता भ्रम चिर्न अग्रसर हुन आह्वान गर्नुभयो। राजनीतिक दलहरूको भूमिका, दिशा र विश्वसनीयता उनीहरूको सिद्धान्त, कार्यक्रम र एजेन्डाबाट निर्धारण हुने उल्लेख गर्दै उहाँले एमालेका नीति तथा कार्यक्रम जनतामाझ पुर्याउन विद्यार्थी र युवाहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो।
उक्त कार्यक्रममा सहभागी युवा तथा विद्यार्थीहरूले अध्यक्ष ओलीसमक्ष समसामयिक राजनीति, निर्वाचन तयारी र पार्टीको भावी रणनीतिबारे विभिन्न जिज्ञासा राखेका थिए। जिज्ञासाको सम्बोधन गर्दै उहाँले संगठन सुदृढीकरण, विचारको स्पष्टता र जनतासँगको निरन्तर संवादमार्फत एमालेले आगामी चुनावमा सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्