जनता टाइम्स

१५ फाल्गुन २०८२, शुक्रबार १६:०९

महाकाली सन्धिमा आफूले हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति


झापा, फागुन १५ । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धि सम्बन्धमा उठिरहेका जिज्ञासाबारे स्पष्टोक्ति दिनुभएको छ । सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा सोधिएका प्रश्नप्रति प्रतिक्रिया दिँदै उहाँले उक्त सन्धिमा आफूले कुनै पनि रूपमा हस्ताक्षर नगरेको दाबी गर्नुभएको हो ।

आज जारी गर्नुभएको विज्ञप्तिमा घिमिरेले महाकाली सन्धिका विषयमा आफू सुरुदेखि नै स्पष्ट रहेको उल्लेख गर्दै सार्वजनिक रूपमा उठेका प्रश्नहरूको जवाफ दिनु आफ्नो दायित्व ठानेको बताउनुभएको छ । सन्धिलाई लिएर भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै उहाँले घृणाको राजनीति नगरी तथ्य, अध्ययन र विश्लेषणका आधारमा बहस गर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ ।

केही दिनअघि एक व्यक्तिले भिडियो खिच्दै सोही विषयमा प्रश्न गरेको प्रसंग उल्लेख गर्दै उहाँले उक्त गतिविधि नियोजित रहेको जानकारी पाएपछि तत्काल प्रतिक्रिया नदिएको स्पष्ट पार्नुभएको छ । अहिले सोही भिडियो अमुक राजनीतिक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भइरहेको दाबी उहाँको छ । ‘कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन, त्यस समयमा म सांसद, मन्त्री वा राज्यको कुनै पनि जिम्मेवारीमा थिइनँ’, विज्ञप्तिमा घिमिरेले उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार लोकतान्त्रिक पार्टीभित्र सन्धिबारे भएको आन्तरिक बहसमा आफूले व्यक्तिगत धारणा राख्नुभएको मात्र हो, जसमा पक्ष–विपक्षमा विभिन्न नेताहरूले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

पार्टीको वैकल्पिक केन्द्रीय सदस्यको हैसियतमा छिमेकी देशसँग सन्धि गर्ने संवैधानिक अधिकार नै नहुने उल्लेख गर्दै यस्तो आरोप लगाइनु दुखद भएको उहाँले बताउनुभएको छ ।

घिमिरेले आफू विगत ५० वर्षदेखि सक्रिय राजनीतिमा संलग्न रहेको उल्लेख गर्दै राजनीति आफ्नो लागि सेवा भएको जिकिर गर्नुभएको छ । बिनाश्रम एक रुपैयाँ पनि नलिएको र कुनै ओहोदा वा व्यक्तिगत प्राप्तिका लागि राजनीति नगरेको उहाँको भनाइ छ ।

तीन वर्षअघि प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको दाबी गर्दै उहाँले झापा क्षेत्र नं. २ का मतदातालाई आफ्नो विगत र पछिल्लो तीन वर्षको कार्यसम्पादनको निष्पक्ष मूल्याङ्कन गर्न आग्रह गर्नुभएको छ । आफूबाट कुनै त्रुटि भएको प्रमाणित भए विनम्रतापूर्वक स्वीकार गर्न तयार रहेको कुरा उहाँले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।