जनता टाइम्स

१५ फाल्गुन २०८२, शुक्रबार १७:२५

नवपुस्ता देश निर्माणको पक्षमा : एमाले महासचिव शंकर पोखरेल


दाङ, फागुन १५ । दाङमा नेकपा (एमाले) प्रवेश गर्नेहरूको संख्या पछिल्लो समय तीव्र रूपमा बढिरहेको छ । फागुन २१ नजिकिँदै गर्दा विशेषगरी युवापुस्तामा एमालेप्रति आकर्षण बढेको देखिएको छ ।

शुक्रबार घोराहीमा आयोजित विशेष कार्यक्रममा विवेक बुढा मगरको नेतृत्वमा २ सय ६९ जना युवा एमालेमा प्रवेश गर्नुभएको छ । कार्यक्रममा पार्टी महासचिव तथा दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेल ले २ सय ९ जना युवा र अन्य ६० जना गरी कुल २ सय ६९ जनालाई पार्टीमा स्वागत गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको भविष्य निर्माणमा युवाको भूमिका निर्णायक हुने बताउनुभयो । ‘देशको भविष्य निर्माणमा युवाको सक्रिय सहभागिता अपरिहार्य छ, आजका नवयुवा विध्वंस होइन, विकास र समृद्धिको पक्षमा उभिएका छन्’, उहाँले भन्नुभयो ।

युवाको ऊर्जा सकारात्मक दिशामा प्रयोग हुनुपर्नेमा जोड दिँदै उहाँले आजका युवा देश जलाउने होइन, देश बनाउने अभियानमा जुटेको उल्लेख गर्नुभयो । राष्ट्रको समृद्धि र स्थायित्वका लागि युवाको शक्ति र सोचलाई सिर्जनात्मक दिशामा अघि बढाउनुपर्ने उहाँको धारणा थियो ।

महासचिव पोखरेलले वर्तमान निर्वाचनलाई मुलुकको समृद्धि चाहने शक्ति र अस्थिरता निम्त्याउने प्रवृत्तिबीचको वैचारिक संघर्षका रूपमा चित्रण गर्नुभयो । ‘यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र होइन, देशलाई सही दिशामा लैजाने र अस्थिरता निम्त्याउने शक्तिबीचको निर्णायक संघर्ष हो’ उहाँले भन्नुभयाे ।

उहाँले आगामी फागुन २१ गते हुने निर्वाचन निर्णायक हुने दाबी गर्दै जनताको विश्वास र समर्थन एमालेप्रति बढ्दै गएको बताउनुभयो । विकास, सुशासन र स्थायित्वप्रतिको प्रतिबद्धताकै कारण एमालेप्रति जनलहर सिर्जना भएको उहाँको भनाइ थियो । आगामी निर्वाचनपछि एमाले देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने दाबी पनि उहाँले गर्नुभयो ।

आर्थिक विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सुशासन स्थापना पार्टीका प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै महासचिव पोखरेलले युवालाई नवीन सोच, सीप र प्रविधिमार्फत राष्ट्र निर्माणमा योगदान गर्न आह्वान गर्नुभयो । ‘युवा राष्ट्र निर्माणका मुख्य आधारशक्ति हुन् , नवीन सोच, सीप र प्रविधिको प्रयोगमार्फत देशको विकासमा अग्रसर हुन म सबै युवालाई आह्वान गर्दछु’, उहाँले भन्नुभयो ।

कार्यक्रममा पार्टी प्रवेश गर्नुभएका युवाहरूले देशको विकास र स्थायित्वका लागि सक्रिय राजनीतिमा सहभागी भएको बताउनुभएको छ । सहभागी युवाहरूका अनुसार वर्तमान पुस्ताले अवसर, रोजगारी र सुशासनको अपेक्षा गरेको छ र त्यसका लागि जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जेन–जी पुस्ताका प्रतिनिधि युवाहरूले डिजिटल प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको माध्यमबाट राष्ट्र निर्माणमा योगदान दिन चाहेको धारणा राख्नुभएको छ । विवेक बुढा मगरले सकारात्मक परिवर्तनको आवश्यकता औँल्याउँदै रोजगारी, शिक्षा र अवसरका क्षेत्रमा सुधारका लागि आफूहरू सक्रिय हुन चाहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, पार्टी कार्यकर्ता तथा युवा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । वक्ताहरूले युवा पुस्ताको राजनीतिक चेतना क्रमशः बढ्दै गएको उल्लेख गर्दै राष्ट्र निर्माणका लागि स्पष्ट विकास योजना र पारदर्शी शासन आवश्यक रहेको धारणा राख्नुभएको थियो ।