जनता टाइम्स

१५ फाल्गुन २०८२, शुक्रबार १७:४०

टोल–टोलमा ओली, मुस्लिम समुदायद्वारा सडक र सहज नागरिकताको माग


दमक, फागुन १५ । निर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ का विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटमा सक्रिय रहनुभएको छ ।

यसै क्रममा शुक्रबार उहाँ गौरादह नगरपालिका–४ स्थित खाङ्टा पुग्नुभएको थियो । उक्त अवसरमा स्थानीय मुस्लिम समुदायका अगुवाहरूले मदरसासम्म पुग्ने सडक निर्माण गरिदिन तथा जन्मसिद्ध नागरिकता वितरण प्रक्रियालाई सहज बनाउन माग गर्नुभएको थियो ।

अध्यक्ष ओली गौरादहका मियाटोली, दुर्गाचोक, मजुवा लगायतका बस्तीहरूमा पुगेर मतदातासँग संवाद गर्नुभएको थियो । टोल–टोलमा पुगेर गरिएको यस प्रकारको प्रत्यक्ष भेटघाटले चुनावी माहोललाई थप सक्रिय बनाएको स्थानीयले बताएका छन् । कार्यकर्ताहरू पनि घरदैलो अभियानप्रति उत्साहित देखिएका छन् ।

चुनाव नजिकिँदै जाँदा अध्यक्ष ओली यतिबेला आफ्नै गृहजिल्ला झापाको क्षेत्र नं. ५ मा केन्द्रित रहनुभएको छ । ठूला आमसभाभन्दा गाउँ–टोल केन्द्रित भेटघाटलाई प्राथमिकता दिँदै उहाँ मतदातासँग प्रत्यक्ष संवादमा जुट्नुभएको हो ।

क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न बस्ती, टोल र चोकहरूमा पुगेर अध्यक्ष ओलीले स्थानीय बासिन्दाका गुनासा, सुझाव र अपेक्षाहरू सुन्नुका साथै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । शुक्रबार पनि उहाँ गौरादहका विभिन्न बस्तीहरूमा पुगेर घरदैलो कार्यक्रमलाई निरन्तरता दिनुभएको थियो ।