जनता टाइम्स

१५ फाल्गुन २०८२, शुक्रबार २१:०७

दमौलीमा रवि लामिछानेलाई उज्यालो नेपालको कालो झण्डा


काठमाडौं, फागुन १५ । तनहुँको दमौलीमा रवि लामिछानेलाई उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरूले कालोझण्डा देखाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेसँगै चुनावी कार्यक्रमका लागि दमौली पुग्दा विरोध प्रदर्शन गरिएको हो।

प्रदर्शनकारीहरू कार्यक्रम स्थलभन्दा केही पर सडकमा भेला भई बाटो छेकेर बसेका थिए। दर्जनौँको सङ्ख्यामा रहेका उज्यालो नेपालका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए। लामिछाने चढेको गाडी सो स्थानमा पुगेपछि प्रहरीले भिड पन्छाएर बाटो खुला गराएको थियो। सो क्रममा सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ।

प्रहरीसँगको झडपमा एक जना प्रदर्शनकारी घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।

स्थिति नियन्त्रणमा लिएपछि लामिछाने र डा. स्वर्णिम वाग्ले सिधै कार्यक्रम स्थलतर्फ लाग्नुभएको थियो। त्यसपछि दमौलीमा रास्वपाले आयोजना गरेको चुनावी कार्यक्रम भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

प्रदर्शनको क्रममा केही कार्यकर्ता पक्राउ गरिएको भन्दै उज्यालो नेपाल पार्टीका कार्यकर्ताले विरोध जनाएका छन् ।  प्रहरीले नियन्त्रणमा लिएका कार्यकर्ताको रिहाइको माग गर्दै उज्यालो नेपाल पार्टीका युवाहरू दमौलीको मुख्य चोकमा धर्नामा बसेका थिए । उनीहरूले जेब्राक्रसमा सुतेर विरोध जनाएका थिए ।

दमौलीमा लामिछानेसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह पनि सहभागी हुने चर्चा थियो। डा. स्वर्णिम वाग्लेले नै लामिछाने र साहको संयुक्त भ्रमण तालिकासहितको पोष्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो।

तर साह तनहुँ पुग्नुभएन। उहाँ चितवनमा लामिछानेसँगै एक कार्यक्रममा मञ्चमा देखिनुभएको भए पनि त्यहाँबाट सिधै काठमाडौं फर्कनुभएको बताइएको छ।