विराटनगर, फागुन १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भ्रष्टाचार निवारण विभाग प्रमुख तथा प्रदेश सदस्य, मोरङ क्षेत्र नम्बर २ का पूर्व उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपानेले पार्टी परित्याग गर्नुभएको छ ।
शुक्रबार साँझ औपचारिक रूपमा पार्टी छाड्नुभएका उहाँले शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपा ‘सिक्किमीकरण’को दिशातर्फ उन्मुख भएको बताउनुभयाे ।
लामो समयदेखि कृषक सशक्तीकरण तथा ‘माटो फुलाउने’ अभियानमा सक्रिय रहनुभएका न्यौपानेले देशको राष्ट्रिय राजनीतिमा बढ्दो संकट देखिएकाले अब ‘माटो जोगाउने’ आन्दोलनको आवश्यकता महसुस भएको बताउनुभयो । सोही उद्देश्यका साथ आफू राष्ट्रवादी धारमा उभिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) रोजेको घोषणा गर्नुभयो ।
पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले रास्वपाका सभापति रवि लामिछाने तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहतर्फ संकेत गर्दै नेतृत्व तह ‘फ्री फायर र पब्जीका सिपाहीजस्ता’ भएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार वर्तमान नेतृत्व राष्ट्र र जनताप्रति जिम्मेवार ढंगले अघि बढ्न नसकेको र भावनात्मक तथा अपरिपक्व शैलीमा राजनीति गरिरहेको अनुभूति भएको बताउनुभयो ।
न्यौपानेले आफूले आगामी परिस्थितिबारे सचेत गराएको स्मरण गर्दै अहिलेका केही उम्मेदवारहरू अन्य शक्तिबाट निर्देशित भएको जस्तो अनुभूति भएको उल्लेख गर्नुभयो । टिकट वितरण प्रक्रियामा देखिएको अपारदर्शिता र आन्तरिक असन्तुलनप्रति पनि उहाँले तीव्र असन्तोष व्यक्त गर्नुभयो ।
‘सिक्किमीकरण’को प्रसंग जोड्दै उहाँले सिक्किमका मतदाताले मतदानमार्फत भारतमा विलय भएको ऐतिहासिक उदाहरण स्मरण गराउँदै वर्तमान राजनीतिक प्रवृत्तिले त्यस्तै जोखिम निम्त्याउन सक्ने संकेत गरेको दाबी गर्नुभयो । मतदातालाई सचेत रहन आग्रह गर्दै उहाँले प्रतिनिधि वा दलको पृष्ठभूमि, विचारधारा र जिम्मेवारीबोधको मूल्यांकन गरेर मात्र मतदान गर्न अनुरोध गर्नुभयो ।
एमाले रोज्नुको कारण स्पष्ट पार्दै उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७४ सालको नाकाबन्दीका बेला लिनुभएको राष्ट्रवादी अडान तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानले आफूलाई प्रभावित पारेको बताउनुभयो । दक्षिण कोरियाको सहज जीवन त्यागेर देश निर्माणका लागि फर्किएको सिपाहीका रूपमा आफू सक्रिय भएको उल्लेख गर्दै उहाँले अध्यक्ष ओलीविरुद्ध भइरहेका आलोचना र आरोपहरू अतिरञ्जित र योजनाबद्ध भएको जिकिर गर्नुभयो ।
उहाँले राजनीति आफ्ना लागि पद, प्रतिष्ठा वा व्यक्तिगत लाभको विषय नभई किसान र माटोको समस्यालाई राज्यको नीतिमा स्थापित गर्ने माध्यम भएको स्पष्ट पार्नुभयो ।













प्रतिक्रिया दिनुहोस्