जनता टाइम्स

१७ फाल्गुन २०८२, आईतवार ११:१५

दाङ–२ मा चतुष्कोणीय प्रतिस्पर्धा, एमाले महासचिव शङ्कर पोखरेलसहित चार शीर्ष उम्मेदवार मैदानमा


दाङ, फागुन १७ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा दाङ क्षेत्र नम्बर २ मा चार प्रमुख दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यस क्षेत्रमा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका किरणकिसाेर घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका विपिनकुमार आचार्य र नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यबिच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

एमालेका उम्मेदवार पोखरेल पार्टीका केन्द्रीय महासचिव हुनुहुन्छ भने कांग्रेसका उम्मेदवार घिमिरे केन्द्रीय विभाग सदस्य हुनुहुन्छ । त्यसै गरी, रास्वपाका आचार्य सहमहामन्त्री र नेकपाका आचार्य केन्द्रीय सदस्यका रूपमा क्रियाशील रहनु भएको छ । चार ठुला राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा उत्रिँदा दाङ–२ को चुनावी माहौल रोचक बनेको छ ।

घरदैलो अभियानका क्रममा मतदाताबाट प्राप्त स्वागत, समर्थन र पार्टी प्रवेशको लहरले तीव्र प्रतिस्पर्धाबिच एमाले उम्मेदवार पोखरेलको पक्षमा चुनावी वातावरण क्रमशः अनुकूल बन्दै गएको विश्लेषण हुन थालेको छ । स्थानीय तहमा सक्रियता र संगठन सुदृढीकरणमा जोड दिँदै उहाँले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्नु भएको छ ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रकी नेतृ रेखा शर्माले कांग्रेस र तत्कालीन नेकपा (एकीकृत समाजवादी)को समर्थनमा २६ हजार ८ सय ८० मत प्राप्त गरी कडा प्रतिस्पर्धाका बिच १ सय ९३ मतान्तरले पोखरेललाई पराजित गर्नु भएको थियो । उक्त निर्वाचनमा पोखरेलले २६ हजार ६ सय ८७ मत प्राप्त गर्नु भएको थियो भने रास्वपाका विशाल अधिकारीले १५ हजार ८ सय ६१ मत ल्याउनु भएको थियो ।

त्यतिबेला कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)को गठबन्धनबाट साझा उम्मेदवार बनेकी शर्मालाई एमालेले एक्लै प्रतिस्पर्धा गर्दै कडा चुनौती दिएको थियो । समानुपातिकतर्फ भने एमाले २३ हजार ५ सय ६८ मतसहित पहिलो दल बनेको थियो । कांग्रेसले १९ हजार ५ सय ९१, रास्वपाले १३ हजार ३३, तत्कालीन माओवादी केन्द्रले १० हजार ८ सय २ तथा नेकपा (एस)ले ७ सय ८२ मत प्राप्त गरेका थिए ।

यसपटक कुनै पनि दलबीच चुनावी गठबन्धन नरहेको र विप्लव नेतृत्वको नेकपा माओवादीले साथ दिएको सन्दर्भमा एमालेले आफ्नो समानुपातिक मत जोगाउन सके महासचिव पोखरेललाई परिणाम आफ्नो पक्षमा पार्न सहज हुन सक्ने आकलन गरिएको छ ।

स्थानीय स्तरमा लोकप्रियता र राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने नेतृत्वका रूपमा परिचित पोखरेलको पक्षमा चुनावी माहौल सकारात्मक बन्दै गएको समर्थकहरूको दाबी छ । विभिन्न पार्टी परित्याग गरी युवाहरूको एमाले प्रवेश बढ्दै जाँदा कार्यकर्ता र समर्थकहरू उत्साहित देखिएका छन् ।

घरदैलो अभियानका क्रममा उहाँले मोटरबाटो, खानेपानी, विद्यालय, स्वास्थ्य सेवा लगायतका स्थानीय समस्याबारे प्रत्यक्ष जानकारी लिनु भएको छ । विगतदेखि आश्वासन मात्र पाउँदै आएका मतदातामा यसपटक ठोस प्रतिबद्धतासहित अघि बढ्नु भएको भन्दै नयाँ आशा जागेको प्रतिक्रिया आउन थालेको छ ।

दाङ–२ मा अधुरा विकास आयोजनाहरू सम्पन्न गर्ने र जनताले भोगिरहेका समस्याको समाधान गर्ने सक्षम उम्मेदवारका रूपमा महासचिव पोखरेललाई लिन थालिएको छ । चुनावी अभियानका क्रममा उहाँ अन्य प्रतिस्पर्धीभन्दा अग्रसर बन्दै गएको स्थानीय विश्लेषकहरूको भनाइ छ ।