जनता टाइम्स

१७ फाल्गुन २०८२, आईतवार १२:१४

मध्यपूर्वको पछिल्लो घटनाक्रमप्रति सतर्क रहन  कुवेत र इराकमा रहेका नेपालीलाई कुवेतस्थित नेपाली राजदूतावासको आग्रह


काठमाडौं, फागुन १७ । नेपाली राजदूतावास, कुवेतले मध्यपूर्वमा हाल विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । राजदूतावासले कुवेत र इराकमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

राजदूतावासद्वारा जारी सूचनामा कुवेत र इराक सरकारले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी निर्देशन तथा सूचनाहरूको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । सकेसम्म घरभित्रै बस्न, अत्यन्त जरुरी नपरेसम्म यात्रा नगर्न, सतर्क रहन तथा आ–आफ्नो स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरिएको छ ।

हाल कुवेतको हवाई क्षेत्र बन्द रहेको जनाउँदै राजदूतावासले कुवेतबाट बाहिरिने तथा कुवेत आउने हवाई यात्रुहरूलाई सम्बन्धित वायु सेवा प्रदायकसँग सम्पर्क गरी यात्राको अवस्था यकिन गर्न आग्रह गरेको छ ।

त्यस्तै, स्थानीय समाचार अलर्ट र सरकारी आधिकारिक निर्देशनबारे सुसूचित रहन तथा सुरक्षित रहने उपाय र निर्देशनका सम्बन्धमा आ–आफ्ना कम्पनीका निर्देशनबारे जानकारी राख्न पनि अनुरोध गरिएको छ ।

कुनै आपत्कालीन अवस्था वा आवश्यक परेमा राजदूतावासको हटलाइन/व्हाट्सएप नम्बर +९६५ ६१००८९५६ तथा इमेल [email protected] मार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।