जनता टाइम्स

१७ फाल्गुन २०८२, आईतवार १९:५२

यो निर्वाचन जनमत सङ्ग्रह पनि होः अध्यक्ष ओली


दमक, फागुन १७। पूर्व प्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत सङ्ग्रह समेत रहेको बताउनुभएको छ । यो निर्वाचनले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्यौल गर्ने भएकाले यसलाई जनमत सङ्ग्रहको रूपमा लिनुपर्ने उहाँले बताउनुभएको हो ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएका बेला पूर्व प्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली आफ्‌नो निर्वाचन क्षेत्र झापा ५ का मतदाताहरूसँग साक्षात्कार जारी राख्नुभएको छ । यसैक्रममा आइतबार दमक–१ मा भएको कार्यक्रममा उहाँले आगामी निर्वाचनलाई साधारण चुनाव मात्र नभई जनमत सङ्ग्रहको रूपमा लिनुपर्ने बताउनुभएको छ । उहाँले यो निर्वाचनबाट जनताले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्यौल गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

देशलाई अस्तव्यस्ततामा धकेलेर अस्थिरता निम्त्याउन खोज्नेहरू सक्रिय हुन खोजेको भन्दै एमाले अध्यक्ष ओलीले आगामी चुनावबाट त्यस्तालाई सधैंका लागि थान्को लगाउनुपर्ने बताउनुभयो । नेपाललाई विदेशीको परेड खेल्ने स्थल हुनबाट जोगाउन समेत आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिको जित जरुरी रहेको भन्दै उहाँले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरिरहेको उहाँले बताउनुभयो। अध्यक्ष ओलीले मतदातालाई राष्ट्र, देश र राष्ट्रियताको पक्षमा मतदान गर्न अपिल पनि गर्नुभएको छ ।