काठमाडौं, फागुन १७ । प्रतिनिधि सभा सदस्य निर्वाचनकाे मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बाजुरा जिल्ला सचिव पूर्णबहादुर बुढाले पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ ।
उहाँलाई एमालेका केन्द्रीय सदस्य कर्णबहादुर थापा र नरेश रोकायाले औपचारिक रूपमा पार्टीमा स्वागत गर्नु भएको हो ।
एमाले केन्द्रीय सदस्य थापाले बुढाको संगठनात्मक अनुभव र क्षमताले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नु भयो । जिल्लामा एमालेको जनाधार विस्तारमा उहाँको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
एमालेमा आबद्ध हुँदै बुढाले आफ्नो राजनीतिक यात्राको नयाँ चरण सुरू भएको उल्लेख गर्नु भएको छ । स्थानीय तहदेखि जिल्ला तहसम्म संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएका बुढा पछिल्लो दुई वर्षदेखि रास्वपामा आवद्ध भई जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै उहाँले मुलुकको समग्र विकास, स्थायित्व र समृद्धिको यात्राका लागि नेकपा (एमाले) नै उपयुक्त राजनीतिक शक्ति रहेको धारणा राख्नु भयो । रास्वपामा देश परिवर्तनका लागि स्पष्ट नीति तथा दीर्घकालीन कार्यदिशा नदेखिएकाले आफू पुनः एमालेमा फर्किएको उहाँको भनाइ थियो । बाजुरामा एमालेका तर्फबाट लालबहादुर थापा उम्मेदवार रहनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्