दमक, फागुन १८ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) का उपमहासचिव योगेश भट्टराईले देशलाई ‘मियो बिनाको दाइँ’ जस्तो अस्थिर अवस्थामा पुग्न नदिन आगामी निर्वाचनमा एमालेको जित अनिवार्य रहेको बताउनुभएको छ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत दमकमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विकसित भइरहेका चुनौतीहरूको सामना गर्न सक्षम र अनुभवसिद्ध राजनीतिक शक्तिले निर्वाचन जित्न आवश्यक रहेको धारणा राख्नुभयो।
उहाँले चुनावी मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा थप अस्थिरता निम्त्याउने सङ्केत देखिएको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिले मुलुकलाई दिशाहीन बनाउने जोखिम रहेको बताउनुभयो। “देशलाई मियो बिनाको दाइँ बनाउने प्रयास हुन नदिन एमाले र अध्यक्ष केपी शर्मा ओलीको जित अपरिहार्य छ,” उहाँको भनाइ थियो।
उपमहासचिव भट्टराईले केही उम्मेदवार तथा दलले देशलाई जुवाको अखडा बनाउन खोजेको आरोपसमेत लगाउनुभयो। उहाँका अनुसार त्यस्ता शक्तिमा देश निर्माणको स्पष्ट उद्देश्य नरहेको र जितेमा छाती पिट्ने तथा हारेमा निराश हुनेबाहेक दीर्घकालीन दृष्टिकोण नदेखिएको दाबी गर्नुभयो।
जेनजी आन्दोलनबाट भएको क्षतिको दोष जबरजस्ती एमालेतर्फ थोपर्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले उक्त आन्दोलनका क्रममा देशलाई ध्वस्त पार्ने गतिविधिमा संलग्न व्यक्तिहरू कुन नैतिक आधारमा उम्मेदवार बनेका छन् भन्ने प्रश्नसमेत उठाउनुभयो।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले अघिल्लो निर्वाचनजस्तै फराकिलो मतान्तरले झापा–५ बाट अध्यक्ष ओली विजयी हुने दाबी गर्नुभयो। उहाँले झापा–५ का मतदाताले निरन्तर रूपमा अध्यक्ष ओलीलाई उम्मेदवारका रूपमा पाउनु यस क्षेत्रका लागि अवसर भएको उल्लेख गर्नुभयो।
त्यसैगरी क्षेत्रीय चुनाव प्रचार उपसमिति संयोजक तथा पार्टी केन्द्रीय सदस्य इन्द्र भण्डारीले सशक्त जनपरिचालन र मतदाताको सक्रिय सहभागिताले एमालेको जित सुनिश्चित भइसकेको दाबी गर्नुभयो। कार्यक्रममा स्थानीय पत्रकार तथा पार्टीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।













प्रतिक्रिया दिनुहोस्