काठमाडौं, फागुन १८ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण मतदातालाई आह्वान गर्नुभएको छ। आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उहाँले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन मतदानको महत्त्व निर्णायक रहेको बताउनुभयो।
प्रधानमन्त्री कार्कीले ‘जेन–जी’ आन्दोलनपछिको कठिन र चुनौतीपूर्ण अवस्थाबाट देशलाई शान्तिपूर्ण निकास दिँदै संविधानको मार्गमा फर्काउन सरकार सफल भएको दाबी गर्नुभयो। उहाँले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गर्न सरकार र निर्वाचन आयोग नेपाल पूर्ण प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो।
उहाँले सबै मतदातालाई लोकतान्त्रिक अधिकार प्रयोग गर्दै मतदानमा सहभागी हुन आग्रह गर्नुभयो। साथै शान्ति, अमनचयन र सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई अपिल गर्नुभयो।
चुनावी मैदानमा रहेका सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई धन्यवाद दिँदै उहाँले उहाँहरूको सक्रियताले लोकतन्त्र सुदृढ हुने बताउनुभयो। “चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु, तपाईँहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो,” प्रधानमन्त्री कार्कीले भन्नुभयो।
उहाँले मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न तथा प्रचारप्रसारका क्रममा संयमित र मर्यादित व्यवहार गर्न आग्रहसमेत गर्नुभयो।
निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई धन्यवाद दिँदै उहाँले निष्पक्ष र पारदर्शी निर्वाचन सम्पन्न गराउने विषयमा सरकार प्रतिबद्ध रहेको पुनः स्मरण गराउनुभयो।
सामाजिक सञ्जाल र मिडियामार्फत तथ्यहीन, कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखेको उहाँले बताउनुभयो। त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने चेतावनीसमेत दिनुभयो। दण्डहीनतालाई कुनै हालतमा प्रश्रय नदिने स्पष्ट पार्दै उहाँले कानुनबमोजिम जुनसुकै तहको कारबाही गर्न सरकार पछि नहट्ने बताउनुभयो।
प्रधानमन्त्री कार्कीले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको तनावप्रति पनि चिन्ता व्यक्त गर्नुभयो। विशेषगरी इरानसहितका क्षेत्रमा बढ्दो युद्ध जोखिमले नेपाल सरकारलाई सचेत बनाएको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो। नेपाल परराष्ट्र मन्त्रालयमार्फत निरन्तर अनुगमन भइरहेको उहाँले बताउनुभयो।
उहाँले वर्तमान जिम्मेवारीलाई मातृभूमिप्रतिको कर्तव्यका रूपमा लिएको उल्लेख गर्दै केही दिनपछि देशको बागडोर जनताले निर्वाचित गर्ने प्रतिनिधिहरूको हातमा पुग्ने विश्वास व्यक्त गर्नुभयो। लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन सबै पक्षको जिम्मेवार भूमिका अपरिहार्य रहेको उहाँको भनाइ थियो।













प्रतिक्रिया दिनुहोस्