जनता टाइम्स

१८ फाल्गुन २०८२, सोमबार १५:०३

वीरगञ्जमा नेपाली कांग्रेसका पुराना नेता रामविलासप्रसाद यादव सहित एमाले प्रवेश, प्रदीपकुमार यादवद्वारा स्वागत


काठमाडौं, फागुन १८ । पर्साको वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका नेपाली कांग्रेसका पुराना नेता रामविलासप्रसाद यादव युवा समर्थकहरूको समूहसहित नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

नेपाली कांग्रेसका मधेस प्रदेश महासमिति सदस्य तथा पूर्व गाविस उपाध्यक्षसमेत रहनुभएका यादवले सोमबारदेखि पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) मा आबद्ध हुनुभएको हो।

उहाँलाई पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार प्रदीपकुमार यादवले पार्टीमा स्वागत गर्नुभएको हो। स्वागत कार्यक्रममा स्थानीय युवा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ।

एमाले प्रवेशपछि नेता यादवले देश र जनताको हितलाई केन्द्रमा राख्दै नयाँ उत्साह र प्रतिबद्धतासहित राजनीतिक यात्रालाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले बदलिँदो राजनीतिक परिवेशमा स्थायित्व, विकास र सुशासनका लागि एमाले उपयुक्त शक्ति भएको निष्कर्षमा आफू पुगेको बताउनुभयो।

हरपतगञ्ज क्षेत्रमा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहनुभएका यादवको एमाले प्रवेशलाई स्थानीय राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। निर्वाचन नजिकिँदै गर्दा मधेस प्रदेशमा नेताहरूको दलबदल र ध्रुवीकरण तीव्र बन्दै गएको छ।