जनता टाइम्स

१८ फाल्गुन २०८२, सोमबार १७:०२

उम्मेद्वारी छाडेर एमाले प्रवेश गरे महोत्तरी-१ का उनेपा उम्मेदवार गुप्ता


महोत्तरी, फागुन १८ । महोत्तरी क्षेत्र नं १ का उज्यालो नेपाल पार्टी (उनेपा)का उम्मेदवार नेकपा एमाले प्रवेश गरेका छन् । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार मनोजकुमार गुप्ता सोमबार एमाले प्रवेश गर्नुभएको हो ।

उनेपाका उम्मेदवार गुप्ता एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीलाई समर्थन गर्दै पार्टी प्रवेश गरेको एमालेका युवा नेता शंकर महतोले बताउनु भयो । गुप्तालाई एमालेका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवलगायतले पार्टीमा स्वागत गर्नुभयो ।

एमाले प्रवेश गर्दै गुप्ताले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्दै स्थिरता, सुशासन र समृद्धिको आधार निर्माण गर्न सक्षम नेतृत्व आवश्यक रहेकोले आफू उम्मेद्वारी त्यागेर एमाले जिताउन लागेको बताउनु भयो । गुप्ताले लामो संघर्षबाट प्राप्त जनपक्षीय संविधान, राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक मूल्य–मान्यता र सामाजिक न्यायको रक्षा गर्न दृढ राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उल्लेख पनि गर्नुभयो ।

महोत्तरीको समग्र विकास, सामाजिक सद्भाव, आर्थिक सशक्तीकरण तथा जनताको जीवनस्तर उकास्न राष्ट्रियहितमा आधारित निर्णय जरुरी रहेको जिकिर गर्दै यही आवश्यकतालाई मध्यनजर गरेर आफूले नेकपा एमालेका उम्मेदवार कोइरीलाई समर्थन गर्ने निर्णय लिएको गुप्ताले स्पष्ट पार्नुभयो ।