नवराज पथिक
रामेछाप, फागुन १९ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी चलिरहँदा कर्तव्य पालनाको क्रममा एक अनुभवी शिक्षकले ज्यान गुमाउनु भएको छ। रुद्राक्षेश्वर मावि मन्थली नगरपालिका–७ मुगिटारका ५७ वर्षीय निमावि द्वितीय श्रेणीका शिक्षक डोरप्रसाद घिमिरेको सोमबार भएको सवारी दुर्घटनामा निधन भएको हो।
घिमिरे सरको शिक्षण पेसाबाट अवकाश हुन करिब तीन वर्ष बाँकी थियो। नियमित रूपमा निर्वाचन हुने हो भने उहाँको जागिरे जीवनमा गराउने प्रतिनिधिसभा सदस्य निर्वाचन यो अन्तिम हुनसक्ने थियो। त्यसैले जागिरे जीवनको उत्तरार्धमा आएको मतदान अधिकृतको जिम्मेवारी पूरा गर्न उहाँ उत्साहित हुनु स्वाभाविक नै थियो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि अनुशिक्षण कार्यक्रम आयोजना गरेको थियो। उक्त तालिममा घिमिरे सर सक्रिय सहभागिता जनाउनु भएको थियो। निर्धारित कार्यक्रमअनुसार सोमबार उहाँले निर्वाचन सामग्री बुझ्नु भयो।
एउटै रुट पर्ने भएकाले रामेछाप नगरपालिका–२ देउराली र वडा नं. ३ साँघुटारमा खटिनु भएका मतदान अधिकृतहरूसँग समन्वय गरी एउटै सवारी साधन खोज्ने प्रयास भयो। चुनावी समयमा सवारी साधन अभाव हुनु सामान्य कुरा हो। अन्ततः ना ७ ख ६७६८ नम्बरको निसान गाडी उपलब्ध भयो। निर्वाचन कार्यालयबाट सामग्री लोड गरी गाडी सोमबार दिउँसो मन्थलीबाट देउराली हुँदै साँघुटारतर्फ प्रस्थान गर्यो। अन्य कर्मचारीसँगै घिमिरे सर पनि सोही गाडीमा सवार हुनु भएको थियो।
देउरालीस्थित मतदान केन्द्रका कर्मचारी झारिसकेपछि अपराह्न करिब ४ः१५ बजेतिर देउरालीको सिरुवारीबाट साँघुटारतर्फ जान गाडी सिरुवारी डाँडाबाट ब्याक गरिएको थियो। तर मोड नपुगी ब्याक गर्ने क्रममा गाडी नियन्त्रणबाहिर गई करिब १०० मिटर तल भिरबाट खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडीमा सवार १० जना निर्वाचन कर्मचारीमध्ये नेपाल प्रहरीका असई परशुराम यादवको घटनास्थलमै निधन भयो। घिमिरे सरलाई घटनास्थलबाट साससहित उद्धार गरी मन्थली नगर अस्पताल ल्याइएको थियो। तर अस्पताल पुर्याउँदासम्म उहाँको प्राणपखेरु उडिसकेको चिकित्सकहरूले पुष्टि गर्नुभयो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी र स्थानीयवासी घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेका थिए। घाइते सात जनालाई तत्काल मन्थली ल्याई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। घाइतेहरू अस्पतालमा उपचाररत रहनु भएको छ।
निर्वाचन सम्पन्न गरी सकुशल फर्कनु होला भन्दै मुख्य निर्वाचन अधिकृतलगायतले विदाइ गर्नुभएको घिमिरे सर अब कहिल्यै नफर्कने यात्रामा जानु भएको छ। कर्तव्य निर्वाहका क्रममा उहाँले ज्यान गुमाउनु परेको यो घटना जिल्लाका लागि गहिरो पीडाको विषय बनेको छ।
उहाँको पार्थिव शरीरको मन्थली नगर अस्पतालमा पोस्टमार्टम गरी तमाकोशी नदी किनारमा अन्त्येष्टि गरिँदैछ। चुनावी उल्लासको बेला घिमिरे परिवार मात्र होइन, सिंगो रामेछाप जिल्ला नै शोकमा डुबेको छ।
कर्तव्य पालनाको सिलसिलामा जीवन आहुति दिनु भएका डोरप्रसाद घिमिरे र नेपाल प्रहरीका असई परशुराम यादवप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ। उहाँहरूको समर्पण र जिम्मेवारीबोध सधैं स्मरणीय रहनेछ। उहाँहरु प्रति जनता टाइम्सकाे पनि शब्दश्रद्धा ।













प्रतिक्रिया दिनुहोस्