जनता टाइम्स

१९ फाल्गुन २०८२, मंगलवार १९:४१

इरानमाथिको अमेरिकी–इजरायली आक्रमण ‘अवैध’ : चीन  


काठमाडौं, फागुन १९ । चीनले इरानमाथि अमेरिका र इजरायलले गरेको हमलालाई ‘अवैध’ भन्दै कडा आपत्ति जनाएको छ। बेइजिङले तत्काल सैन्य कारबाही रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

चीनले उक्त आक्रमणले मध्यपूर्व क्षेत्रमा युद्ध थप फैलिने जोखिम बढाएको चिन्ता व्यक्त गरेको छ। पछिल्ला घटनाक्रमले क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर असर पार्न सक्ने बेइजिङको धारणा छ।

चिनियाँ विदेशमन्त्री वाङ यी र इरानी समकक्षी अब्बास अरागचीबीच आज भएको टेलिफोन संवादको विवरण सार्वजनिक गर्दै चीनले इरानको ‘वैध र कानूनी अधिकार’को समर्थन गर्ने स्पष्ट पारेको हो।

चीनले इरानसँगको आफ्नो पुरानो सम्बन्धलाई उच्च महत्त्व दिने उल्लेख गर्दै इरानको सम्प्रभुता, क्षेत्रीय अखण्डता, सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्ने पक्षमा उभिने जनाएको छ। साथै, विवाद समाधानका लागि संवाद र कूटनीतिक पहल नै उपयुक्त मार्ग हुने चीनको जोड छ।