जनता टाइम्स

२० फाल्गुन २०८२, बुधबार ०८:४६

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव मौनअवधिमा नगदसहित पक्राउ


सिरहा, फागुन २० । जनता समाजवादी पार्टी (जसपा) नेपाल का सिरहा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ पर्नुभएकाे छ। मौनअवधिका बेला उहाँ नगदसहित नियन्त्रणमा पर्नुभएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो। जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ।

नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। थप कारबाहीका लागि उहाँहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।