जनता टाइम्स

२० फाल्गुन २०८२, बुधबार ०९:५७

बिरामीको उपचार गर्नुपर्ने पूजा स्वयं अस्पतालको शय्यामा : कर्तव्यपालनकै क्रममा घाइते सिनियर अनमी सुनुवारका लागि गाउँको प्रार्थना


रामेछाप, फागुन २० । बिरामीको घाउमा मलम लगाउँदै, सुत्केरी आमाको हात समाउँदै, ज्वरोले थला परेका बालबालिकालाई सान्त्वना दिँदै दिनरात खटिनु हुने उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित भुजी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी पूजादेवी सुनुवार आज स्वयं अस्पतालको शय्यामा उपचाररत हुनुहुन्छ। जसले अरूको जीवन जोगाउने कसम खानुभएको थियो, उहाँ अहिले आफ्नै जीवनका लागि संघर्ष गरिरहनुभएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउन उहाँ रामेछाप नगरपालिका–२ स्थित शीतलादेवी माध्यमिक विद्यालय, सिरुवारिमा निर्वाचन कार्यका लागि खटिनुभएको थियो। कर्तव्य निर्वाहका लागि खटिएको टोली सवार मिनी ट्रक सोमबार देउरालीको सिरुवारी डाँडामा दुर्घटनाग्रस्त हुँदा उहाँसहित सात जना घाइते हुनुभएको छ भने दुःखद रूपमा दुई जनाले ज्यान गुमाउनुभएको छ।

उहाँहरूलाई उपचारका लागि सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको छ। अस्पतालको शय्यामा पूजादेवीसहित घाइतेहरू उपचाररत रहनुभएको छ। चिकित्सकहरूको निगरानीमा उहाँहरूको उपचार भइरहेको छ, तर गाउँमा भने प्रत्येक घरको मन अस्पतालको शय्या तिरै अडिएको छ।

भुजीका बासिन्दाहरु भन्नुहुन्छ, ‘हामी बिरामी हुँदा सबैभन्दा पहिले सम्झिने अनुहार पूजादेवीकै हो, कोही राति अचानक बिरामी परे पनि उहाँ ढोका ढकढक्याउँदै पुग्नुहुन्थ्यो, वर्षा होस् वा चिसो, टाढाको डाँडापाखा होस् वा कठिन बाटो, उहाँ कहिल्यै पछि हट्नुभएन । ’

आज त्यही समर्पित स्वास्थ्यकर्मी अस्पतालको शय्यामा हुनुहुन्छ। गाउँका बृद्धबृद्धा, सुत्केरी आमा, बालबालिका सबै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहनु भएकाे छ। ‘हामीलाई उपचार गर्ने हात छिट्टै निको होस्,’ भन्ने कामना अहिले भुजी गाउँको साझा स्वर बनेको छ।

निर्वाचनजस्तो राष्ट्रिय कर्तव्य पूरा गर्न जाँदा भएको यो दुर्घटनाले गाउँ मात्र होइन, सिंगो जिल्लालाई स्तब्ध बनाएको छ। जनताको सेवा र लोकतान्त्रिक प्रक्रियामा योगदान गर्न खटिएका कर्मचारीहरू यसरी दुर्घटनामा पर्नु दुःखद मात्र होइन, अत्यन्त पीडादायी घटना हो।

यस कठिन घडीमा पूजादेवी सुनुवारसहित उपचाररत सबै घाइतेहरूको शीघ्र पूर्ण तथा सुस्वास्थ्य लाभको कामना जिल्लाले गरेकाे छ । मृत आत्माकाे चीरशान्तिकाे कामना गर्दै साेकमा रहेका परिवार प्रति सिङ्गाे जिल्लाले नै  समवेदना प्रकट गरेकाे छ ।

गाउँलेहरू भन्छन्, ‘पूजा सिस्टर छिट्टै फर्कनुहोस्, यहाँ बिरामीहरू तपाईँको प्रतीक्षामा छन्।’

उहाँ चाँडै नै पूर्ण स्वास्थ्यलाभ गरी सुरक्षित रूपमा आफ्नो कर्तव्यमा फर्कनुहोस्। जसले अरूलाई जीवन दिने काम गर्नुभयो, उहाँ स्वयं जीवनको यो कठिन मोड पार गरेर फेरि स्वास्थ्य चौकीको ढोकामा उभिन सक्नुहोस्, यही नै सबैको प्रार्थना छ।