जनता टाइम्स

२० फाल्गुन २०८२, बुधबार २०:४६

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच शीतल निवासमा भेटवार्ता, निर्वाचन तयारीबारे ब्रिफिङ


काठमाडौं, फागुन २०। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री कार्की शीतल निवास पुग्नुभएको हो ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भोलि हुने निर्वाचनको समग्र तयारीबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको बताइएको छ । निर्वाचनको व्यवस्थापन, सुरक्षा तयारी तथा प्रशासनिक समन्वयका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

भदौ २३ र २४ गते घटेको जेनजी घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले भदौ २७ गते सुशीला कार्कीलाई नेपालको संविधानअनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

छ महिनाभित्र निर्वाचन गराउने म्याण्डेटसहित गठन भएको वर्तमान सरकारले सोही प्रतिबद्धताअनुसार भोलि निर्वाचन सम्पन्न गराउन लागेको हो । सरकारले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।