काठमाडौं, फागुन २० । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा आज राष्ट्रिय सुरक्षा परिषद्को ४२औँ बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीकाे अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीज (आमन्त्रित सदस्य), मुख्य सचिव, प्रधान सेनापति लगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैठकमा भाेलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको समिक्षा गरिएको थियो । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निष्कर्ष निकाल्दै प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न गर्ने विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।
यसैगरी, राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरूका बारेमा पनि बैठकमा गम्भीर समीक्षा गरिएको थियो । राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका पछिल्ला घटनाक्रमहरूले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव र सम्भावित चुनौतीहरूको विश्लेषण गर्दै भावी रणनीतिबारे समेत छलफल भएको बताइएको छ ।
मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सम्बन्धित सुरक्षा निकायहरूलाई थप प्रभावकारी, समन्वयात्मक तथा सुदृढ रूपमा परिचालन गर्ने विषयमा पनि सहमति जुटाइएको सचिवालयले जनाएको छ ।
रक्षा मन्त्रालयका सचिव तथा राष्ट्रिय सुरक्षा परिषद्का सदस्य–सचिव केदारनाथ शर्माज्यूका अनुसार बैठकले समग्र सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै आवश्यक निर्देशन दिएको छ ।














प्रतिक्रिया दिनुहोस्