चितवन, फागुन २० । सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सामग्री प्रसारण गरी निर्वाचन गतिविधिमा प्रत्यक्ष असर पार्ने उद्देश्यले ‘एआई जेनरेटेड डीपफेक’ भिडियो पोस्ट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भारतका प्रधानमन्त्रीको नाम जोडेर तयार गरिएको ‘एआई जेनरेटेड डीपफेक’ भिडियो फेसबुकलगायत सामाजिक सञ्जालमा पोस्ट गरी समाजमा घृणा तथा द्वेष फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा भरतपुर महानगरपालिका–१६ निवासी नन्दप्रसाद भट्टलाई नियन्त्रणमा लिइएको हो । भट्ट रास्वपा कार्यकर्ता हाे । उहाँ रास्वाप नेतृ साेभिता गाैतमकाे चुनावी कार्यक्रममा निरन्तर लाग्नु भएकाे थियाे ।
उहाँलाई २०८२ फागुन २० गते भरतपुर महानगरपालिका–१० स्थितबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ कार्य नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको प्राविधिक सहयोगमा गरिएको बताइएको छ । भट्टले भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले बालेन साहले चुनाव जित्ने भन्दै बधाई दिएकाे भिडियाे बनाएर प्रशारण गर्नु भएकाे थियाे ।
उहाँमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हाल घटनासम्बन्धी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्