रामेछाप, फागुन २० । प्रगतिशील लोकतान्त्रिक पार्टीले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत प्रसारित गरिएको कथित ‘सहमति पत्र’प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा रामेछाप जिल्लाका इन्चार्ज र संयोजकको हस्ताक्षर राखी तयार गरिएको भनिएको उक्त दस्तावेजमा प्रगतिशील लोकतान्त्रिक पार्टी र नेपाली कांग्रेसबीच चुनावी सहकार्य भएको उल्लेख गरिएकोप्रति आपत्ति जनाइएको छ ।
विज्ञप्तिमा सो दस्तावेज पार्टीको आधिकारिक निर्णय, हस्ताक्षर वा अनुमोदनबिना तयार गरिएको भ्रामक र झुटो कागज भएको स्पष्ट पारिएको छ । पार्टीको आधिकारिक निकायबाट त्यस्तो कुनै निर्णय नगरिएको दाबी गरिएको छ ।
त्यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फ पार्टीका आधिकारिक उम्मेदवार इन्जिनियर विरेन्द्र श्रेष्ठ रहनुभएको जानकारी दिइएको छ । अन्य कुनै सहकार्य वा समर्थनबारे पार्टीले आधिकारिक निर्णय नगरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले आफ्ना सम्पूर्ण सदस्य, शुभेच्छुक तथा आम जनसमुदायलाई उक्त भ्रामक कागजातमा विश्वास नगर्न आग्रह गरेको छ । साथै, यस्ता झुटा तथा भ्रामक दस्तावेज तयार गर्ने तथा प्रचारप्रसार गर्ने व्यक्तिविरुद्ध आवश्यक कानुनी तथा संगठनात्मक कदम चालिने चेतावनी दिइएको छ ।
यसअघि रामेछापमा भोलि हुने प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेस र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेलको सहमति भएको भन्दै दुई दलका नेताबीच हस्ताक्षर गरिएको दस्तावेज सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्दै सहकार्यसम्बन्धी दाबी असत्य रहेको जनाएको हो ।














प्रतिक्रिया दिनुहोस्