जनता टाइम्स

२१ फाल्गुन २०८२, बिहीबार १४:४७

फागुन २१ मेरो जीवन र राजनीतिक यात्रामा विशेष अर्थ बोकेको दिन : केपी शर्मा ओली


काठमाडौं, फागुन २१ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ आफ्नो जीवनका लागि विशेष दिन भएको बताउनुभएको छ।

सुनखानी शहीद दिवस र आफ्नो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको दिन एकै दिन परेको उल्लेख गर्दै उहाँले यो दिन आफ्ना लागि कहिल्यै नबिर्सने दिन भएको बताउनुभएको हो।

अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत फागुन २१ का दुई संयोग स्मरण गर्नुभएको छ। उहाँका अनुसार यही दिन सुनखानी शहीद दिवस पनि हो भने आजकै दिन ६ वर्षअघि आफ्नो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। ‘आज मेरो जीवनका दुई संयोग भएका दिन हुन्, आज सुनखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो,’ उहाँले भन्नुभएको छ, ‘यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्।’

अध्यक्ष ओलीले झापा आन्दोलनलाई निरङ्कुश व्यवस्थाविरुद्ध विद्रोहको बिगुल फुकेको ऐतिहासिक आन्दोलनको रूपमा स्मरण गर्नुभएको छ। सोही आन्दोलनका क्रममा आफूहरूलाई जेल हालिएको उल्लेख गर्दै उहाँले आन्दोलनका केही योद्धाहरूलाई निरङ्कुश शासनले हत्या गरेको बताउनुभयो।

उहाँका अनुसार झापा आन्दोलनका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो।

अध्यक्ष ओलीले आफूलाई पनि जेल सार्ने बहानामा हत्या गर्ने प्रयास भएको स्मरण गर्दै मृत्युको मुखबाट फर्केर आएको बताउनुभएको छ । उहाँले त्यसपछि १४ वर्षको कठोर कारावास भोग्नुपरेको पनि उल्लेख गर्नुभएको छ ।

देशलाई लोकतन्त्रको मार्गमा अघि बढाउन बलिदान गर्ने अमर शहीदप्रति उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। ‘देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ उहाँले भन्नुभएको छ।

अध्यक्ष ओलीले फागुन २१ आफ्नो जीवन र राजनीतिक यात्रामा विशेष अर्थ बोकेको दिन भएको समेत उल्लेख गर्नुभएको छ।