जनता टाइम्स

२१ फाल्गुन २०८२, बिहीबार १६:३५

दोलखाको मालु मतदान केन्द्रमा कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खाेजेकाे स्थानमा अर्को मितिमा मतदान हुने


दोलखा, फागुन २१ । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा स्थगित भएको मतदान अब अर्को मितिमा गरिने भएको छ।

बुथ कब्जाको प्रयास भएपछि सो मतदान केन्द्रमा मतदान रोकिएको थियो। स्थगित मतदानका लागि अर्को मिति तोक्न जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गर्नुभएको छ।

मतदानका क्रममा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेको आरोप लागेको छ। सो घटनाको विरोधमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले विरोध जनाएपछि मतदान केन्द्रको अवस्था तनावपूर्ण बनेको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो।

घटनाका क्रममा कांग्रेस र नेकपाका केही कार्यकर्ताले मतपत्रको ठेली बोकेर हिँडेको आरोप लागेको छ। नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ तथा नेकपाका नेता अर्जुन योगीलगायतले मतपत्रको ठेली बोकेर हिँडेको आरोप छ।

उनीहरूमाथि मुद्दा चलाउने तयारी भइरहेको स्रोतले जनाएको छ। यसैबीच नियन्त्रणमा रहेका अन्य चार जनालाई सोधपुछपछि छाड्ने तयारी भएको बुझिएको छ। तर नेपाली कांग्रेस र नेकपाले भने नियन्त्रणमा रहेका सबैलाई बिना सर्त रिहा गर्न माग गरेका छन्।