जनता टाइम्स

२१ फाल्गुन २०८२, बिहीबार २१:४४

रामेछापमा ४८.२६ प्रतिशत मतदान : मतपेटिका आउने क्रम जारी, सबै मतपेटिका आएपछि मतगणना सुरु हुने


रामेछाप, फागुन २१। रामेछापमा सम्पन्न मतदानमा कुल ४८.२६ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा महिला ४० हजार ८६ र पुरुष ५० हजार ६२४ गरी कुल ९० हजार ७१० मत खसेको हो।

जिल्लामा रहेका ९६ वटा मतदान स्थलमध्ये केही स्थानका मतपेटिका आइपुगेका छन् भने मतपेटिका संकलनको क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार  भोलि बिहानसम्म सबै मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने अनुमान गरिएको छ। ‘मतपेटिका आउने क्रम जारी छ, सबै मतपेटिका प्राप्त भएपछि मात्र मतगणनाको प्रक्रिया सुरु हुनेछ,’ प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो।

रामेछाप जिल्लामा यस निर्वाचनका लागि कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेका थिए। तीमध्ये करिब आधा मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाएका छन्।

मतदान सकिएसँगै अहिले सुरक्षा निकायको निगरानीमा विभिन्न स्थानबाट मतपेटिका सदरमुकामतर्फ ल्याउने काम भइरहेको छ। दुर्गम र भौगोलिक रूपमा टाढा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन समय लाग्ने भएकाले सबै मतपेटिका भोलिसम्म आइपुग्ने अनुमान गरिएको प्रशासनले जनाएको छ।

सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसी मतगणनाको समय निर्धारण गरिने र त्यसपछि औपचारिक रूपमा मतगणना सुरु हुने जनाइएको छ।