जनता टाइम्स

२१ फाल्गुन २०८२, बिहीबार २२:१२

देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनुभयो धन्यवाद 


काठमाडौं, फागुन २१। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभर आम रूपमा शान्तिपूर्ण ढङ्गले मतदान सम्पन्न भएको बताउनुभएको छ ।

निर्वाचन सम्पन्न भएपछि प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनुभएको छ। उहाँले सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी भएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्नुभयो । ‘देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ, निर्वाचन सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनु भएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद,’ ओलीले भन्नुभएको छ ।

उहाँले निर्वाचन प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने राजनीतिक दलका कार्यकर्ता तथा प्रतिनिधिहरूलाई पनि धन्यवाद दिनुभएको छ।

अध्यक्ष ओलीले लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन मतदाताको सहभागिता महत्त्वपूर्ण हुने उल्लेख गर्दै निर्वाचन प्रक्रियामा सहभागी भएका सबै पक्षको भूमिकाले लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।