जनता टाइम्स

२२ फाल्गुन २०८२, शुक्रबार १३:०६

मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित


काठमाडौं, फागुन २२ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ। मतगणनाको अन्तिम परिणाम अनुसार उहाँ ३ हजार ३ सय ७ मतसहित विजयी हुनुभएको हो।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८ सय ६ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अधितीय चन्द्र थकालीले ७ सय ५९ मत ल्याउनुभएको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कमला लालचनले १ सय ६१ मत प्राप्त गर्नुभएको छ भने नेकपाका उम्मेदवार ङुटुक गुरुङले १ सय ५१ मत ल्याउनुभएको छ। मतगणना सम्पन्न भइसकेको भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने आधिकारिक घोषणा गर्न बाँकी रहेको जनाएको छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी हुनुभएका गौचन यसपटक पुनः निर्वाचित हुनुभएको हो।

जिल्लामा कुल ११ हजार ३ सय २८ मतदाता रहेकामा ६ हजार ३ सय ८८ मत खसेको थियो। त्यसमध्ये १ सय ७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।