जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार ०८:३३

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको उदय : २० सिट जित्दा ९९ क्षेत्रमा अग्रता


काठमाडौं, फागुन २३ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय सफलता हासिल गरेको छ । हालसम्म सार्वजनिक परिणामअनुसार रास्वपाले २० निर्वाचन क्षेत्रमा विजय हासिल गरिसकेको छ भने थप ९९ क्षेत्रमा फराकिलो मतान्तरसहित अग्रता कायम गरेको छ ।

प्रारम्भिक नतिजाले रास्वपाको प्रभाव देशका सबै प्रदेशमा फैलिएको देखाएको छ । कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारहरू विजयी भएका छन् ।

कोशी प्रदेशमा मोरङ–४ बाट सन्तोष राजवंशी र मोरङ–६ बाट रुबिना आचार्य निर्वाचित हुनुभएको छ ।

मधेस प्रदेशतर्फ धनुषा–३ बाट मनीष झा र महोत्तरी–१ बाट प्रमोदकुमार महतो निर्वाचित हुनुभएको छ ।

वाग्मती प्रदेशमा रास्वपाले उल्लेख्य सफलता हासिल गरेको छ । काठमाडौं–१ बाट रन्जु न्यौपाने, काठमाडौं–३ बाट राजुनाथ पाण्डे, काठमाडौं–४ बाट पुकार बम, काठमाडौं–५ बाट सस्मित पोखरेल, काठमाडौं–६ बाट शिशिर खनाल, काठमाडौं–७ बाट गणेश पराजुली, काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठ, काठमाडौं–९ बाट डोलप्रसाद अर्याल र काठमाडौं–१० बाट प्रदीप विष्ट विजयी हुनुभएको छ । यसैगरी चितवन–२ बाट रास्वपा सभापति रवि लामिछाने निर्वाचित हुनुभएको छ ।

गण्डकी प्रदेशमा स्याङ्जा–१ बाट धनञ्जय रेग्मी, कास्की–२ बाट उत्तमप्रसाद पौडेल र कास्की–३ बाट बिना गुरुङ निर्वाचित हुनुभएको छ ।

लुम्बिनी प्रदेशतर्फ रुपन्देही–४ बाट कन्हैया बनिया, बाँके–१ बाट सुरेशकुमार चौधरी र बाँके–३ बाट खगेन्द्र सुनार विजयी हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार देशभरका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना जारी छ । हालसम्मको परिणामले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाइ सदस्य पुर्याउने संकेत गरेको छ ।