गुल्मी, फागुन २३ । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना उत्तरार्धतिर पुग्दै गर्दा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतन्त्रप्रति आफ्नो दृढ श्रद्धा व्यक्त गर्नुभएको छ ।
उहाँले विजयोन्मुख उम्मेदवार सागर ढकाल र रास्वपा प्रतिनिधिहरूलाई अग्रिम बधाई दिनुभएकाे छ । साथै निर्वाचन प्रक्रिया शान्तिपूर्ण र स्वस्थ रूपमा सम्पन्न गराउन सहयोग गर्नु हुने मुख्य निर्वाचन अधिकृत, प्रजिअ तथा सबै सुरक्षा निकाय र कर्मचारी मित्रहरूलाई धन्यवाद व्यक्त गर्नुभएकाे छ ।
उहाँले चुनावी प्रक्रियामा अहोरात्र खट्नु हुने सबै प्रति पनि अगाध माया र सम्मान प्रकट गर्नुभएकाे छ । ज्ञवालीले अपेक्षा अनुसारको परिणाम नआएको भए पनि लोकतन्त्रमा जनताको निर्णय सर्वोपरि हुने हुँदा जनादेशप्रतिकाे सम्मान अटल रहेकाे उल्लेख गर्नु भएकाे छ ।
उहाँले जनतालाई विश्वास दिलाउँदै जिल्लाको विकास र जिल्लावासीहरूको सुखदुखमा सदैव साथमा रहने प्रतिवद्धता व्यक्त गर्नु भएकाे छ । उहाँले यी कठिन दिनहरू पनि समयसँगै बित्ने भएकाले सबैको मंगलकामना व्यक्त गर्नुभएकाे छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ, ‘गुल्मी-१ को मतगणना उत्तरार्धतिर पुग्दैछ । विजयोन्मुख श्री सागर ढकाल र रास्वपालाई अग्रीम बधाई ! शान्तिपूर्ण र स्वस्थ रूपमा निर्वाचन सम्पन्न गराउनु हुने मुख्य निर्वाचन अधिकृत, प्रजिअ लगायत सबै सुरक्षा निकाय र कर्मचारी मित्रहरूलाई धन्यवाद । निर्वाचनमा अहोरात्र खट्नुहुने सबै कमरेडहरूप्रति अगाध माया र सम्मान । यस्तो परिणामको अपेक्षा थिएन । तर लोकतन्त्रमा जनताको फैसला सर्वोपरि हुन्छ । त्यसैले जनादेशप्रति सम्मान छ । जिल्लाको विकास र जिल्लावासीहरूको सुखदुखमा मलाई हमेशा साथमै पाउनु हुनेछ । यी अप्ठ्यारा दिनहरू पनि बितेर जानेछन् । भवतु सब्ब मङ्गलम् !’













प्रतिक्रिया दिनुहोस्