काठमाडौं, फागुन २३ । देशभर प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय सफलता हासिल गरिरहेको अवस्थामा लुम्बिनी प्रदेश नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख ओम पौडेलले आज पार्टीबाट राजीनामा दिनुभएको छ।
उहाँले आफ्नो राजीनामा पत्रमा लेख्नुभयो, ‘म २०७९ सालमा रास्वपाको सदस्य बनेर पार्टीमा योगदान दिन थालेँ। अहिले साधारण सदस्यको हैसियत पनि नरहने गरी राजीनामा पेस गर्दछु। मेरो उद्देश्य पुराना राजनीतिक दलका गलत पात्रहरूले स्थापना गरेको ठगी, राज्य संयन्त्र कब्जा, तस्करी, संस्थागत भ्रस्टाचार र बेरोजगारीका विरुद्ध रवि लामिछानेले देखाएको साहस र आँटमा ऐक्यबद्धता जनाउँदै पार्टीमा जोडिनु हो।’
पौडेलले थप्नुभएकाे छ, ‘यस निर्वाचनको मतपरिणाम र मैले पुरा गरेको जिम्मेवारीसँगै आफ्नो कर्तव्य सम्पन्न भएको महसुस गर्छु। अब बाँकी जिम्मेवारी नयाँ परिवर्तनकारी शक्तिहरूले लिनुपर्नेछ। मेरो गाउँ, समाज र देशको विकासमा म सधैँ साथमा हुनेछु।’
उहाँले आफ्नो पार्टी छोड्नुको कारण पनि स्पष्ट पार्दै लेख्नु भएकाे छ, ‘म कुनै पद वा अवसर खोज्नका लागि पार्टी छोडेको होइन। म स्वतन्त्र नागरिकको रूपमा समाज र देशमा योगदान दिन चाहन्छु। संविधानले दिएको स्वतन्त्रता भित्र मैले यो निर्णय लिएको हुँ।’
पौडेलले राजीनामा पत्रमा लेख्नु भएकाे छ ‘पार्टीमा रहँदा मैले कम्ती–बढी संगठन विस्तार गर्ने क्रममा धेरै साथी-भाईको माया कमाएँ। ती सम्बन्धहरू सधैँ मुटुको कुनामा सुरक्षित रहनेछ। भविष्यमा गुण, दृष्टिकोण र समाज परिवर्तनका लागि सक्षम व्यक्तिहरूलाई नागरिकको रूपमा समर्थन गर्नेछु र आवश्यक परे सल्लाह, सुझाव तथा निगरानी जारी राख्नेछु।’
उहाँले आफ्नो निर्णयलाई पूर्णतः व्यक्तिगत विवेकमा आधारित भएको र अब व्यवसायमा ध्यान दिने बताउनु भएकाे छ। साथै भविष्यमा आवश्यक परे समाज र देशको हितमा सक्रिय रहन तयार रहेको पनि स्पष्ट पार्नु भएकाे छ । उहाँले आगामी दिनमा परिवर्तनकारी शक्ति र गुणयुक्त व्यक्तिहरूलाई समर्थन गर्ने प्रतिबद्धता दोहोर्याउनुभएकाे छ ।













प्रतिक्रिया दिनुहोस्