जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार ११:२०

एमाले महासचिव शंकर पोखरेलद्वारा पराजय स्विकार : जनताले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिए


काठमाडौं, फागुन २३। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा निर्वाचनमा आफ्नो हार स्वीकार गर्नुभएको छ। पार्टीका अधिकांश उम्मेदवार पराजित भएपछि उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मतदाताप्रति आदर व्यक्त गर्नुभएको हो।

पोखरेलले लेख्नुभएको छ, ‘आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आएको छ। जनताले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिएका छन्। जनविश्वास अनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाह सहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना।’

उहाँले थप्नुभएको छ, ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो। तर ‘परिवर्तन’ को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन। अभियानमा जुट्नुहुने सबैलाई हृदयदेखि नै धेरै–धेरै धन्यवाद।’

पोखरेलले रास्वपाका विजयी उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै भन्नुभएको छ, ‘म उम्मेदवार भएको प्रतिनिधि सभा–२ निर्वाचन क्षेत्रबाट रास्वपाका विपिन आचार्य निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।’

उहाँले निर्वाचनको परिणामप्रति सकारात्मक दृष्टिकोण राख्दै मतदातालाई सम्बोधन गर्नुभएकाे छ, ‘जिन्दगी हो, हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ भन्ने गितको भावझैँ लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हो। निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैमा हार्दिक अनुरोध गर्दछु।’