जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार २०:४३

चितवनकाे कालिका–९ मा अटो दुर्घटना : चार जनाको मृत्यु, एक घाइते


चितवन, फागुन २३ । चितवनको कालिका नगरपालिकामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडक खण्डमा उर्पदाङगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बा.प्र.०६–००१ ह ०३१५ नम्बरको अटो अनियन्त्रित भई सडकछेउको नालामा पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका अटो चालक राप्ती नगरपालिका–९ निवासी ३९ वर्षीय पूर्ण विक, राप्ती नगरपालिका–८ निवासी ५६ वर्षीया विष्णु कुमारी तामाङ, राप्ती–९ की २२ वर्षीया बिनी तामाङ र सोही स्थानका ५५ वर्षीय तिलक तामाङको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

त्यस्तै दुर्घटनामा घाइते हुनुभएकी राप्ती नगरपालिका–९ निवासी ५३ वर्षीया चिनीकुमारी गुरुङको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। उहाँको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार अटो अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।