मकवानपुर, फागुन २४ । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ। पछिल्लो निर्वाचन परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको भन्दै उहाँले आइतबार सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गर्नुभएको हो।

पोखरेलले नेकपा मालेदेखि एमालेसम्मको ४५ वर्षे राजनीतिक यात्रामा पार्टीले भोग्नुपरेको वर्तमान परिणामको वास्तविक कारण पहिचान गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले भन्नुभएको छ:
“नेकपा माले हुँदै एमालेको ४५ वर्षे यात्रामा अहिले पार्टीले जुन परिणाम भोग्नुपरेको छ, त्यसको कारण के हो भन्ने विषयमा गम्भीर समीक्षा हुन आवश्यक छ। यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन। त्यसैले तलदेखि माथिसम्म सबैले आत्मसमिक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आजको माग हो। पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिब लगाएत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमिक्षा गर्नुपर्छ, र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिदै पार्टी पुनरगठनका लागि नेतृत्वले बाटो प्रशस्त गर्नु पर्दछ। आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्ने हो भने यस यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनैपर्छ। यसै सन्दर्भमा, आजकै दिनदेखि लागू हुने गरी म आफ्नो अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु। अब आउने युवाहरूलाई मेरो साथ र सहयोग पूर्ण रूपमा रहनेछ। आशा छ, नयाँ युवा पुस्ताले यस पार्टीलाई सही दिशा र ढङ्गबाट अगाडि बढाउनुहुनेछ। आजसम्म तपाईंहरूबाट प्राप्त सहयोग, माया र सद्भावप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु। साथै जनमतको कदर गर्दै हाल प्रतिनिधि सभामा निर्वाचित सबैप्रति हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु।”
पोखरेलले आफ्नो राजीनामासँगै पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्वको अवसर दिनुपर्नेमा जोड दिनुभएको छ र आगामी दिनमा पार्टीको पुनरगठन र सुदृढीकरणका लागि आफू निरन्तर सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँको निर्णयले मकवानपुर र अन्य जिल्लाहरूमा नेतृत्व, जिम्मेवारी र पार्टीको आत्मसमीक्षाको नयाँ बहस सुरु गरेकाे छ।












प्रतिक्रिया दिनुहोस्