जनता टाइम्स

२४ फाल्गुन २०८२, आईतवार १३:३२

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट विजयी, ८ हजार मतान्तरले जित हाँसिल


काठमाडौं, फागुन २४ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गर्नुभएको छ। उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी रास्वपा उम्मेदवार गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गर्नुभएको छ।

अन्तिम मतपरिणामअनुसार साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्नुभएको छ भने गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिँदै प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिनुभएका साम्पाङले जेन्जी आन्दोलनपछि आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गर्नुभएको थियो। पार्टी दर्ता भएको केही महिनामै प्रत्यक्ष तर्फ दुई सिट जित्नु यसका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। साे पार्टीबाट खोटाङमा आरेन राई विजयी भइसक्नु भएकाे छ भने भोजपुरमा ध्रुव राई अग्रता लिइरहनुभएको छ।

सुनसरी–१ मा अन्य उम्मेदवारमा नेकपा एमालेका टिका मांगलेनले ६ हजार ३३१ मत प्राप्त गर्नुभएको थियो भने नेपाली कम्युनिष्ट पार्टीका सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गर्नुभएको थियो।

साम्पाङ जेन्जी आन्दोलनका क्रममा प्रधानमन्त्री बन्न काठमाडौं जानु भएको थियो। प्रधानमन्त्री बन्न नसकेपछि उहाँले आफ्नो पार्टी दर्ता गर्दै सक्रिय रूपमा चुनावी अभियानमा होमिनुभएको थियो।

उहाँले धरानमा स्वतन्त्र उम्मेदवार बनेर मेयरमा जित हासिल गर्नुभएको थियो। साे समयमा उहाँले धरानमा देखिएको खानेपानी समस्यालाई प्रमुख एजेन्डा बनाउनु भएकाे थियाे ।

साम्पाङको यस विजयलाई श्रम संस्कृति पार्टीको उदीयमान राजनीतिक प्रभावको उदाहरणका रूपमा हेरिएको छ। यससँगै पार्टीको भविष्य र आगामी निर्वाचनमा यसको रणनीतिक उपस्थितिको संकेत पनि प्राप्त भएको छ।