जनता टाइम्स

२४ फाल्गुन २०८२, आईतवार १५:५७

प्रतिनिधि सभा निर्वाचन : सीके राउत तेस्रोमा सीमित, मधेस केन्द्रित दलले एक सिट पनि जित्न सकेनन्


काठमाडौं, फागुन २४ । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामसँगै मधेस केन्द्रित राजनीतिक दलहरूले सफलता हासिल गर्न नसकेको देखिएको छ।

सप्तरी सप्तरी–२ मा सीके राउत तेस्रो स्थानमा सीमित भएसँगै मधेस केन्द्रित दलले हालसम्म एक सिट पनि जित्न सकेका छैनन्। यस अघि जसपा नेपालका नेता उपेन्द्र यादव पनि पराजित भइसक्नु भएको छ ।

सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई साढे १७ हजार भन्दा बढी मतान्तरले पराजित गर्नु भएको थियो । रास्वपाका चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरेर निर्वाचित हुँदा यादवले १५ हजार २३९ मत पाउनुभयो ।

सप्तरी सप्तरी–२ मा  पनि पनि राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव २८ हजार ४०४ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादव ले १४ हजार २६३ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्नुभएको छ।

जनमत पार्टीका अध्यक्ष सीके राउत ९ हजार ८८० मत प्राप्त गर्दै तेस्रो स्थानमा खुम्चनु भएको छ। गत निर्वाचनमा मधेसमा नयाँ शक्तिका रूपमा उदाएको जनमत पार्टीका अध्यक्ष राउत यस पटक भने प्रतिनिधिसभा निर्वाचन जित्न असफल हुनुभएको हो। उहाँ मात्र होइन उहाँको पार्टीका कुनै पनि उम्मेदवारले चुनाव जित्न सकेनन् ।

जनमत पार्टीबाटै फुटेर बनेको स्वाभिमान पार्टीका उम्मेदवार सतिशकुमार सिंहले ३ हजार ५५७ मत प्राप्त गर्नुभएको छ। उहाँ यसअघि जनमत पार्टीबाटै मधेस प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएको थियो।

त्यसै गरी नेपाली कांग्रेस का रामकुमार यादवले २ हजार ४९८ मत प्राप्त गर्नुभएको छ भने राष्ट्र निर्माण पार्टीका अफरोज आलम ले १ हजार १२० मत प्राप्त गर्नुभएको छ। स्वतन्त्र उम्मेदवार मोहम्मद जियाउन रहमानले ८८३ मत प्राप्त गर्नुभएको छ।

यस पटकको निर्वाचन परिणामले मधेसको राजनीतिमा प्रभाव राख्ने भनिएका मधेस केन्द्रित दलहरूको प्रभाव कमजोर भएको छ  ।

चुनाव हारेपछि राउतले अहिलेको खराब परिणाम विशेष परिस्थितिको उपज भएको बताउँदै यो कुनै पार्टी, नेता वा उम्मेदवारको विषय नभएको बताउनु भएको छ । ‘ठूल-ठूला इतिहास बोकेका ७०-८० वर्षदेखि स्थापित पार्टीहरू, वृहत् संगठन संरचना भएका पार्टीहरू, वर्षौँदेखि प्रशिक्षित लाखौँ क्रियाशील सदस्य भएका अनुशासित पार्टीहरू, मधेस आन्दोलन गरेर आएका तथा पार्टी एकता गरेर आएका पार्टीहरूका नेता तथा उम्मेदवारहरू सबैको हालत उस्तै छ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

त्यसैले यस परिणामलाई कसैको व्यक्तिगत उपजका रूपमा नलिई परिस्थितिजन्य कुराको रूपमा स्विकारेर अगाडि बढ्न उहाँले आग्रह गर्नु भएको ५ । ‘अलिकति पनि निराश हुनै पर्दैन, जनताले दिएको आदेश स्वीकार गरौँ, जितेकालाई सरकार चलाउन दिऔँ, धेरै विश्लेषण र बहसमा पनि अल्झिनु पर्दैन, समाजमा आफ्नो पार्टीको होस् कि बाहिरको, कसैमाथि आरोप-प्रत्यारोप वा कसैप्रति रुखो भाषा प्रयोग नगर्नुहोला, आफ्नो गाउँ-ठाउँमा सबैसँग विनम्र भएरै पेस हुनुहोस्, सबैलाई धन्यवाद दिनुहोस्, र जनताको चरणमा आफ्नो सेवा जारी राख्नुहोस्’, राउतको कार्यकर्तालाई निर्देशन छ ।

‘एक-दुई वर्ष मात्रै कुर्नुहोस्, सबै कुरा छर्लङ्ग हुन्छ, फेरि जनता हामी तिरै आउँछन्, हावाहुरी स्थायी हुँदैन, सिद्धान्त र एजेण्डाले हामीलाई चिरकालसम्म समाजमा जीवित राख्दछ’, उहाँले लेख्नु भएको छ ।