हेटौँडा, फागुन २४ । नेकपा (एमाले) मकवानपुरको कार्यवाहक अध्यक्षको जिम्मेवारी जिल्ला उपाध्यक्ष हिदम लामालाई दिइएको छ।
आइतबार बसेको जिल्ला सचिवालय बैठकले उपाध्यक्ष लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको जिल्ला सचिव सीता विष्टले जानकारी दिनुभयो।
उहाँका अनुसार ११औँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष श्रीधर पोखरेल विगत पाँच महिनादेखि पार्टीको नियमित कामकाज तथा सम्पर्कमा नरहनुभएको भन्दै सचिवालय बैठकले उहाँलाई अध्यक्ष पदबाट मुक्त गर्ने निर्णय गरेको हो। सचिव विष्टद्वारा जारी प्रेस विज्ञप्तिमा अध्यक्ष पोखरेलले सामाजिक सञ्जालमार्फत ‘जिम्मेवारीबाट राजीनामा दिएको’ भन्ने अभिव्यक्ति सार्वजनिक गरेको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। पार्टीलाई कुनै जानकारी नदिई लामो समयसम्म नियमित कामकाज तथा गतिविधिमा सहभागी नहुनुका साथै सामाजिक सञ्जालमार्फत राजीनामा दिएको अभिव्यक्ति सार्वजनिक भएको विषयलाई पार्टीले गम्भीरताका साथ लिएको जनाइएको छ।
उक्त विषयमा छलफल गर्न आइतबार बसेको जिल्ला सचिवालय बैठकले सार्वजनिक रूपमा फैलिएको भ्रमको खण्डन गर्दै पोखरेललाई अध्यक्ष पदबाट मुक्त गर्ने र उपाध्यक्ष हिदम लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसैबीच एमाले मकवानपुरले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका उम्मेदवारको पक्षमा मत माग्न तथा निर्वाचन व्यवस्थापनमा सक्रिय रूपमा खटिनुभएका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी सदस्य, शुभेच्छुक तथा समर्थकप्रति धन्यवाद व्यक्त गरेको छ।
त्यसैगरी पार्टीप्रति विश्वास व्यक्त गरी मतदान गर्नुहुने मकवानपुरका मतदाता, निर्वाचन सम्पन्न गर्न खटिनुभएका निर्वाचन आयोगका कर्मचारी तथा सुरक्षा निकायप्रति पनि आभार व्यक्त गरिएको छ। साथै, निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्राप्त जनमतको कदर गर्दै देश र जनताको पक्षमा, संविधान र लोकतन्त्रको रक्षा, विकास, समृद्धि र सुशासनका लागि दृढतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गरिएको विज्ञप्तिमा जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्