रामेछाप, फागुन २५ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा रामेछापबाट दोस्रो स्थान हासिल गर्नुभएका नेकपा (एमाले)का केन्द्रीय सदस्य माधव ढुंगेलले अहिलेकाे निर्वाचन परिणामलाई आत्मसमिक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले एमाले, नेपाली कांग्रेस र माओवादीबाट अलगिएर बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको उल्लेख गर्नुभएको छ ।
उहाँले जनताले रास्वपालाई देखेर वा नदेखेर, उम्मेदवार भए पनि नभए पनि मत दिएको टिप्पणी गर्दै यसलाई परम्परागत दलप्रतिको आक्रोश हो वा नयाँ शक्तिप्रतिको विश्वास हो भन्ने विषय समयले स्पष्ट पार्ने बताउनुभएको छ । ‘एमाले, कांग्रेस र माओवादीको गर्भबाट जन्मिएको नयाँ पार्टी रास्वपाले प्रतिनिधिसभा निर्वाचन २०८२ मा सफलता हासिल गरेको छ,’ उहाँले भन्नुभएको छ, ‘पार्टी र उम्मेदवार भए पनि नभए पनि, देखेपनि नदेखेपनि भोटको ओइरो जनताले लगाइदिए, यो हामीप्रतिको आक्रोश हो कि रास्वपाप्रतिको अगाध विश्वास हो, समयले हामीलाई निर्देश गर्दै जाला, हामी आफ्ना कर्मको समीक्षा गर्दै फेरि धुलो टक्टक्याउँदै उठ्ने प्रयास गर्नेछौँ ।’
रामेछापमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ । सो क्षेत्रमा रास्वपाका उम्मेदवार डा. कृष्णहरि बुढाथोकी २४ हजार ८०८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका माधव ढुंगेलले १७ हजार ६०९ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि ढुंगेलले विजयी उम्मेदवारसहित सबैलाई बधाई दिँदै देशको स्वाधीनता, सुशासन र आर्थिक स्थायित्वका लागि सबैले मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । ‘देश अरू कसैको गुलाम नहोस्, नेपाल सरकारलाई कसैले कठपुतली नबनाओस्, अर्थतन्त्रले मेलो पक्डियोस् र जनताले सुशासनको अनुभूति गर्न पाऊन्,’ उहाँले भन्नुभएको छ, ‘विजेता सबैलाई बधाई तथा मतदानमा सहभागी हुने सम्पूर्ण मतदातालाई हार्दिक धन्यवाद ।’
उहाँले रामेछापका मतदाताले आफूलाई दिएको माया र विश्वासप्रति आभार व्यक्त गर्दै यस पटक संसद्मा प्रतिनिधित्व गर्ने अवसर भने नजुरेको बताउनुभएको छ । ‘रामेछापेली जनताको माया मैले पाएकै थिएँ, तर संसद्मा प्रतिनिधित्व गर्ने संयोग यसपटक मेरो लागि जुरेन,’ उहाँले भन्नुभएको छ, ‘जनताको मतको सम्मान गर्दै जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
यसैबीच ढुंगेलले आफ्नो निर्वाचन अभियानमा सहभागी भई आर्थिक तथा भौतिक रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले पार्टीका नेता–कार्यकर्ता, सचिवालय, सुरक्षाकर्मी तथा कर्मचारीप्रति पनि आभार प्रकट गर्नुभएको छ ।
उहाँले निष्ठापूर्वक चुनावी अभियानमा खटिएका पार्टी पंक्तिप्रति विशेष धन्यवाद दिँदै आगामी दिनमा पनि जनताको सेवा र राजनीतिक सक्रियता निरन्तर जारी रहने बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्