जनता टाइम्स

२५ फाल्गुन २०८२, सोमबार १३:३२

‘हामी ढलेका मात्र हौँ, मरेका होइनौँ’ : योगेश भट्टराई


काठमाडौं, फागुन २५ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले हालैको निर्वाचन परिणामले पार्टीलाई आत्मसमीक्षा र रूपान्तरणको आवश्यकता देखाएको बताउनुभएको छ । उहाँले पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै एमाले पराजित भए पनि समाप्त नभएको उल्लेख गर्दै ‘हामी ढलेका मात्र हौँ, मरेका होइनौँ’ भन्ने धारणा व्यक्त गर्नुभएको हो ।

निर्वाचन परिणामपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले पछिल्ला तीन दिनमा करिब हजार जनासँग फोनमार्फत संवाद भएको र त्यत्तिकै सन्देश प्राप्त भएको जानकारी दिनुभएको छ । ती संवादमा पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकबाट सुझाव, टिप्पणी, विरोध, आक्रोश, निराशा, सम्भावना र सुधारका उपायबारे विविध धारणा आएको उहाँले बताउनुभयो ।

उहाँले निर्वाचनमार्फत जनताले एमालेको नीति र नेतृत्वलाई शान्तिपूर्ण ढंगले अस्वीकार गरेको उल्लेख गर्दै यसलाई वस्तुगत यथार्थका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभएको छ । जनसमर्थन पुनः प्राप्त गर्न पार्टीभित्र सर्वांगीण रूपान्तरण आवश्यक रहेको उहाँको भनाइ छ ।

भट्टराईले विशेषगरी भदौ २३ र २४ पछि पार्टीले लिएका नीतिहरू ठीक नभएको भन्दै त्यसमा सुधार आवश्यक रहेको धारणा राख्नुभएको छ । ती नीतिहरूमा संशोधन गर्नुपर्ने विषयमा आफूहरूले बैठक, भेटघाट र महाधिवेशनमार्फत नेतृत्वसमक्ष पटक–पटक आग्रह गरे पनि त्यसमा सफलता नपाएको उहाँले उल्लेख गर्नुभयो । अब पार्टीभित्र पुनः खुला छलफल र बहस आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले सार्वजनिक संस्थामा जिम्मेवारी र जवाफदेहिता महत्वपूर्ण विषय हुने उल्लेख गर्दै एमाले अहिलेको अवस्थामा पुग्नुमा नीतिगत निर्णय मात्र नभई नेतृत्व तहका सबै कमिटी र नेताहरूको पनि भूमिका रहेको बताउनुभयो । यद्यपि नीतिगत र कार्यकारी भूमिकामा रहेका केन्द्रीय कमिटी तथा केन्द्रीय सचिवालयले नै सफलता वा असफलताको मुख्य जिम्मेवारी लिनुपर्ने उहाँको धारणा छ ।

भट्टराईले पार्टीले भोगिरहेको अवस्था सम्पूर्ण पार्टीको सामूहिक असफलता भएको उल्लेख गर्दै यसको समाधान पनि सामूहिक बुद्धि र सामूहिक पहलबाट मात्र सम्भव हुने बताउनुभएको छ । उहाँले विगतका गुट–समूहको घेराबाट बाहिर निस्केर खुला र स्पष्ट बहसमा सहभागी हुन सबै नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

साथै उहाँले पार्टी, जनसंगठन र प्रवासमा रहेका विभिन्न तहका कमिटी तथा सदस्यलाई आफ्ना सुझाव पार्टी नेतृत्वसमक्ष पठाउन पनि आग्रह गर्नुभएको छ ।

भट्टराईले सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैलीमार्फत एमाले पुनः उठ्ने विश्वास व्यक्त गर्नुभएको छ । पार्टीको एकता जोगाउँदै संयम र धैर्यताका साथ आत्मभर्त्सना होइन आत्मसमीक्षाको बाटोमा अघि बढ्न उहाँले सम्पूर्ण एमाले कार्यकर्तालाई अपिल गर्नुभएको छ ।

यसैबीच उहाँले एमाले एउटा सार्वजनिक संस्था भएको उल्लेख गर्दै पार्टीबारे सुझाव, आलोचना तथा टिप्पणी पठाउन बुद्धिजीवी तथा आम नागरिकलाई पनि आग्रह गर्नुभएको छ ।

भट्टराईले राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा आजको साझा राष्ट्रिय कार्यभार भएको उल्लेख गर्दै बाम–लोकतान्त्रिक विचारधाराको संरक्षण तथा जनादेशको सम्मानका लागि विभिन्न राजनीतिक शक्तिबीच सकारात्मक सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।