विराटनगर, फागुन २५ । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरमै पुगेर कुटपिट गरिएको छ ।
प्रहरीका अनुसार गौरादह–५ राजपति चोक, चप्रामारीका ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमा पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् ।
मेयर सुवेदीका अनुसार सिटौला अचानक घरमा आएर विवाद गर्न थालेका थिए । विवादकै क्रममा सिटौलाले आफूमाथि हातपात गरेको उहाँले बताउनुभयो ।
प्रहरीले सिटौला जापान बसेर हालै नेपाल फर्किएको व्यक्ति भएको जनाएको छ ।
घटनापछि प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको छ । हाल उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।
मेयर सुवेदी नेकपा (एमाले)को तर्फबाट गौरादह नगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्