जनता टाइम्स

२५ फाल्गुन २०८२, सोमबार १४:२५

बालेन साहले बुझाए चुनावी खर्च विवरण : १४ लाख १७ हजार खर्च भएको हिसाब 


काठमाडौं, फागुन २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुभएको छ । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साहले सोमबार आफ्नो चुनावी खर्चको विवरण आयोगमा पेश गर्नुभएको हो ।

बुझाइएको विवरणअनुसार साहले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ ।

उहाँले सवारी साधन भाडातर्फ २ लाख ९३ हजार ५०० रुपैयाँ खर्च भएको विवरण पेश गर्नुभएको छ । त्यसैगरी हवाइ भाडामा ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

त्यस्तै मतदाता प्रशिक्षण कार्यक्रमअन्तर्गत खानातर्फ २९ हजार ३९० रुपैयाँ खर्च भएको जनाइएको छ भने वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजातर्फ २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यसैगरी प्रचार कार्यक्रम सञ्चालनका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च भएको देखाइएको छ । उहाँले मनोनयन दर्ताका लागि भने १० हजार रुपैयाँ मात्र खर्च भएको उल्लेख गर्नुभएको छ ।

निर्वाचन कानुनअनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।