काठमाडौं, फागुन २५ । माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ।
सोमबार दिउँसो सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित विशेष समारोहबीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउनुभएको हो ।
माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रियसभाका १८ जना नयाँ सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रियसभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार यही फागुन २० गते १९ जना सदस्यको कार्यकाल सकिएको थियो । रिक्तमध्ये एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक प्रावधान रहेको छ ।
माघ ११ गते भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल भएको थियो । सोही तालमेलअनुसार विभिन्न प्रदेशबाट उम्मेदवारहरू निर्वाचित भएका थिए ।
कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भएका छन् ।
मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रञ्जित कर्ण र रेखा झा निर्वाचित भएका थिए ।
यस्तै बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् भने कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल विजयी भएका थिए ।
यसैगरी सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका थिए ।
नवनिर्वाचित सदस्यहरूले शपथ ग्रहणसँगै राष्ट्रियसभाको सदस्यका रूपमा आफ्नो कार्यकाल औपचारिक रूपमा सुरु गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्