सिन्धुली, फागुन २५ । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा सिन्धुली इन्चार्ज प्रदीप कटुवालले हालको निर्वाचन परिणामबाट विचलित हुन नहुने बताउँदै पार्टी कार्यकर्तालाई जनसेवामा निरन्तर लागिरहन आग्रह गर्नुभएको छ ।
निर्वाचन परिणामपछि आफ्नो धारणा सार्वजनिक गर्दै कटुवालले मार्क्सवादले लामो संघर्षबाट नै विजय प्राप्त हुने शिक्षा दिएको उल्लेख गर्नुभएकाे छ। ‘मार्क्सवादले भन्छ- ‘हजार वर्षसम्म लडाइँ लड्नुपरे पनि नथाक्ने; अन्ततः जित अवश्य हुन्छ, त्यसैले अहिलेको निर्वाचनबाट हामी चिन्तित वा विचलित हुनुपर्ने आवश्यकता छैन, हामी अवश्य जित्नेछौँ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ ।
कटुवालले अहिलेको राजनीतिक र वैचारिक प्रतिस्पर्धालाई विश्व साम्राज्यवादको नयाँ रणनीतिसँग पनि जोडेर विश्लेषण गर्नुभएको छ । उहाँका अनुसार विश्व साम्राज्यवादले अहिले प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गर्दै नवउदारवादी सिद्धान्तलाई अघि बढाइरहेको छ ।
उहाँले यस्तो चुनौतीलाई सामना गर्न कम्युनिष्ट आन्दोलनले पनि प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘यसले प्रविधिको प्रयोग गरिरहेको छ, त्यसैले यसलाई परास्त गर्न हामीले पनि प्रविधिकै प्रयोग गर्नुपर्छ,’ उहाँकाे धारणा छ ।
कटुवालले वर्तमान राजनीतिक अवस्थालाई ‘सुनामी’ जस्तै चुनौतीपूर्ण अवस्थाका रूपमा उल्लेख गर्दै पार्टी कार्यकर्तालाई धैर्य र दृढताका साथ अघि बढ्न आग्रह गर्नुभएको छ । उहाँले जनतासँग जोडिएर जनसेवामा सक्रिय रहेमा यस्तो चुनौती पनि पार गर्न सकिने विश्वास व्यक्त गर्नुभएकाे छ । ‘फेरि पनि विचलित नभई जनसेवामा लागौँ, यो सुनामी पनि अवश्य परास्त हुनेछ,’ उहाँले भन्नुभयो ।
कटुवालको यो अभिव्यक्ति निर्वाचन परिणामपछि एमालेभित्र देखिएको आत्मसमीक्षा र संगठन सुदृढीकरणको बहसकै क्रममा आएको प्रतिक्रिया रूपमा हेरिएको छ ।













प्रतिक्रिया दिनुहोस्