काठमाडौं, फागुन २५ । प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणाम सार्वजनिक हुँदा सामाजिक सञ्जालमा चर्चित वा ‘भाइरल’ भएका केही उम्मेदवारलाई भने मतदाताले विश्वास नगरेको देखिएको छ। फेसबुक, युट्युब र टिकटकमा चर्चित बनेका कतिपय उम्मेदवारले जमानतसमेत जोगाउन नसक्ने गरी अत्यन्त कम मत पाएका छन्।
यस निर्वाचनमा १६१ निर्वाचन क्षेत्रमध्ये १२४ सिट जित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठूलो सफलता हासिल गरेको छ। तर सामाजिक सञ्जालमा निकै चर्चित व्यक्तिहरू भने चुनावी प्रतिस्पर्धामा कमजोर देखिएका छन्।
ऋषि धमलालाई ६५५ मत
पत्रकार ऋषि धमला रौतहट–४ बाट प्रभु साह नेतृत्वको जनमत पार्टीबाट चुनावी मैदानमा उत्रिनुभएको थियो। चुनावी अभियानका क्रममा कहिले जेरी बनाउँदै, कहिले चटपटे बनाउँदै र कहिले ट्याक्टर चलाउँदै सामाजिक सञ्जालमा उहाँ निकै भाइरल हुनुभएको थियो।
तर मतपरिणाममा उहाँले केवल ६५५ मत मात्र प्राप्त गर्नुभयो। सो क्षेत्रमा रास्वपाका गणेश पौडेलले ३६ हजार ८७६ मत ल्याएर विजय हासिल गर्नुभयो।
दिवाकर साहलाई ३९८ मत
पत्रकार दिवाकर साहले धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो। सामाजिक विसंगतिविरुद्ध आवाज उठाउँदै चर्चामा आउनुभएका साहले निर्वाचनमा ३९८ मत मात्र प्राप्त गर्नुभयो।
त्यस क्षेत्रमा रास्वपाका मनीष झाले ४३ हजार ९८८ मत ल्याएर विजय हासिल गर्नुभएको छ। चुनावपछि साहले पुनः पत्रकारितामा फर्किएको बताउनुभएको छ।
निशा अधिकारीलाई ९१ मत
अभिनेत्री निशा अधिकारी ले काठमाडौं–५ बाट उम्मेदवारी दिनुभएको थियो। ३० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरेर चर्चित रहनुभएकी अधिकारीले निर्वाचनमा ९१ मत मात्र प्राप्त गर्नुभयो।
उक्त क्षेत्रमा रास्वपाका सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याएर विजय हासिल गर्नुभएको छ।
युवराज संग्रौलालाई ३०५ मत
कानुनविद् तथा पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले झापा–२ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो। सामाजिक र राजनीतिक विषयमा धारणा राख्दै चर्चामा रहनुभएका उहाँले ३०५ मत मात्र प्राप्त गर्नुभयो।
सो क्षेत्रमा रास्वपाकी इन्दिरा रानामगरले ६० हजार ११० मत ल्याएर विजय हासिल गर्नुभएको छ।
अन्य भाइरल उम्मेदवार पनि पराजित
सामाजिक सञ्जालमा चर्चित बनेका हेमराज थापा बाजुरामा तेस्रो स्थानमा सीमित हुनुभयो। त्यहाँ नेपाली कांग्रेसका जनकराज गिरीले १७ हजार १७३ मत ल्याएर जित हासिल गर्नुभएको छ भने थापाले ६ हजार ३५ मत पाउनुभएको छ।
त्यस्तै स्वागत नेपाल (भद्रप्रसाद नेपाल) ले झापा–२ बाट ३ हजार ९६५ मत प्राप्त गर्नुभयो।
असिममान सिंह बस्न्यातलाई ५० मत
काठमाडौं–१ बाट उम्मेदवारी दिनुभएका उद्यमीअसिममान सिंह बस्न्यातले ५० मत मात्र प्राप्त गर्नुभयो। सो क्षेत्रमा रास्वपाकी रञ्जु दर्शनाले १५ हजार ४५५ मत ल्याएर विजय हासिल गर्नुभएको छ।
सामाजिक सञ्जालको लोकप्रियता मात्रै पर्याप्त भएन
यसपटकको निर्वाचन परिणामले सामाजिक सञ्जालको लोकप्रियता मात्रले चुनाव जित्न नसकिने स्पष्ट संकेत दिएको विश्लेषकहरू बताउँछन्। मतदाताले स्थानीय संगठन, राजनीतिक विश्वसनीयता र कार्यक्रमलाई प्राथमिकता दिएको देखिएको छ।













प्रतिक्रिया दिनुहोस्