जनता टाइम्स

२५ फाल्गुन २०८२, सोमबार १६:०२

कमजोर मतदाता शिक्षाले बढ्यो बदर मत  


काठमाडौं, फागुन २५ । यस पटक सम्पन्न प्रतिनिधिसभा निर्वाचन–२०८२ मा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसक्दा ठूलो संख्यामा मत बदर भएको देखिएको छ । विभिन्न जिल्लाबाट सार्वजनिक भएका मतपरिणामले मतदाता शिक्षाको कमीका कारण उल्लेख्य मत अमान्य भएको संकेत गरेका छन् ।

निर्वाचन परिणामअनुसार बैतडी जिल्लामा मात्र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ५ हजारभन्दा बढी मत बदर भएको छ । मतगणनाको अन्तिम परिणामअनुसार जिल्लामा ७२ हजार ८४३ मत खसेकोमध्ये ५ हजार ११३ मत बदर भएको हो ।

यसैगरी महोत्तरी जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा झण्डै २० हजार मत बदर भएको तथ्यांक सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम प्रतिवेदनअनुसार जिल्लाका चार निर्वाचन क्षेत्रबाट कुल १९ हजार ९३५ मत बदर भएको हो ।

क्षेत्रगत विवरणअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ३ हजार ९५४, क्षेत्र नम्बर २ मा ५ हजार ४४९, क्षेत्र नम्बर ३ मा ५ हजार १० र क्षेत्र नम्बर ४ मा ५ हजार ५२२ मत बदर भएको छ ।

महोत्तरीमा कुल ४ लाख ३१ हजार २८२ मतदाता कायम गरिएको थियो । तीमध्ये प्रतिनिधिसभा निर्वाचन–२०८२ मा २ लाख ६१ हजार ३४६ जनाले मात्र मतदान गरेका थिए ।

बैतडी र महोत्तरीका तथ्यांक उदाहरण मात्र हुन् । अन्य जिल्लामा पनि बदर मतको अवस्था करिब उस्तै रहेको  छ । मतदाता शिक्षा कार्यक्रम  प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा मतदाताले मतदान प्रक्रिया ठीकसँग बुझ्न नसकेको देखिन्छ ।

निर्वाचनअघि व्यापक रूपमा सञ्चालन गरिनुपर्ने मतदाता शिक्षा कार्यक्रम कमजोर हुँदा मतपत्र सही ढंगले प्रयोग गर्न नसक्ने अवस्था सिर्जना भएको देखिएकाे छ । यसले आगामी निर्वाचनहरूमा मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।