जनता टाइम्स

२५ फाल्गुन २०८२, सोमबार १७:३३

रामकुमारीले किन लिइन् एक्लै शपथ ?


काठमाडौं, फागुन २५ । राष्ट्रिय सभामा निर्वाचित सदस्य रामकुमारी झाँक्रीले एक्लै शपथ लिनुभएको छ । सोमवार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबाट नेकपा नेतृ समेत रहनुभएका सदस्य झाँक्रीले एक्लै शपथ लिनुभएको हो ।

जे गर्दा पनि चर्चामा आइरहने रामकुमारी झाँक्री सोमबार संसद् सचिवालयभर चर्चाकै विषय बन्नुभयो । राष्ट्रिय सभा सदस्यको शपथ गर्दा अरू कसैको खास चर्चा भएन, जसपाका नेता महन्थ ठाकुरले हामी किन यहाँ बसिरहने ? भन्दै चुनावी परिणामप्रति आक्रोश पोखेर समेत खास चर्चामा आउन नसक्दा झाँक्रीचाहिँ केही नबोलेरै चर्चामा आउनु भयो ।

बोलेर नै चर्चामा आउनु भएकी नेतृ झाँक्री सोमबारको शपथमा भने नबोलेरै समयको ख्याल नगर्दा चर्चामा आउनु भयो भने राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले ‘हाम्रो माननीय रामकुमारीलाई जे गर्दा पनि चर्चा कमाउने पहिचान छ’ भन्दै तिखो व्यङ्ग्य कस्नुभयो ।

रामकुमारीको चर्चाको कारण हो, १८ जना सांसदमध्ये १७ जनाले एकसाथ शपथ लिँदा रामकुमारीले मात्र किन एक्लै शपथ लिनुभयो होला भन्ने प्रश्न । यो प्रश्नको जवाफ एउटै हो–समय । समयले नै जवाफ दिने छ तर चर्चा चाहिँ भइरहेको छ ।

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ सोमबार गराइएको हो । गत गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्य पदमा निर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार निर्वाचनमा कोशी प्रदेशबाट झापाकी रोशनी मेचे र सोमनाथ पोर्तेल, धनकुटाका सुनिलबहादुर थापा निर्वाचित हुनुभएको थियो ।

यस्तै मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर, बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित हुनुभएको थियो ।

यस्तै कर्णाली प्रदेश प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही, सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित हुनुभएको थियो । सो निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेको कारण नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको थियो । विजयी सांसदको सोमवार शपथ गराइएको हो । सो शपथमा एमालेकी झाँक्री समयमै नपुगेको कारण एक्लै शपथ गराइएको हो ।